बजेटको सिलिङ नघटाऔँ : देवेन्द्र पौडेल
फाइल तस्बिर
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले आगामी आ.व.२०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा भाग लिँदै सांसद पौडेलले बजेटको सिलिङ नघटाउन आग्रह गरेका हुन् ।
उनले करको दायरामा वृद्धि गरेर र सहुलियतमा ऋण लिएर भएपनि बजेटको सिलिङ घटाउनु नहुने बताए । उनले वैदेशिक अनुदान लिने, बेरुजुलाई नियमन गर्ने र भ्रष्टाचारलाई नियन्त्रण गरेर अर्थ प्रणालीलाई सुधार्नुपर्नेमा जोड दिए ।
‘बजेटको सिलिङ निकै घटाउनेतिर नसोच्नको निम्ति म सुझाव दिन चाहन्छु । खोजौँ, बरु करको दायराहरुलाई वृद्धि गरौँ । सफ्ट लोनमा वैदेशिक अनुदान लिनेकुरा अघि भियतनामको कुरा सुनाउनुभयो । संसारमा प्रगति गर्ने देशहरुले अरु देशबाट सफ्ट लोनमा व्यवस्था गरेर देशलाई अगाडी बढाएको हामी पाउँछौँ । डराउनु हुँदैन' उनले भने 'त्यसकारणले वैदेशिक अनुदान ल्याउने कुरा, करको दायरा बढाउने कुरा, कतिपय अप्ठ्यारोमा परेर अल्झेका करहरुलाई, बेरुजुहरुलाई नियमन गर्नेकुरा, भ्रष्टाचारलाई न्युनिकरण गर्ने कुरा, र अर्थप्रणाीलाई सुधार्ने कुरातिर हामी गयौँ भनेदेखि एक खर्ब भन्नेकुरा ठूलो होइन । मैले सुनेको गत वर्षभन्दा १ खर्बभन्दा कममा बजेट आउँदैछ, मन्त्रीज्युहरुले हामी जाँदाखेरी पैसा छैन मात्रै भन्नुहुन्छ । अर्थमन्त्रीज्युलाई मेरो अनुरोध के छ भने तपाईले आँट गर्नुस् । संसारभरीका सम्भावना भएका खोजौँ । नेपाल भित्रका सम्भावना पनि हामीले खोजौँ । त्यसो गरियो भने सम्भव छ ।’
सांसद पौडेलले शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा दुई, दुईवटा भएपनि राम्रो काम अगाडी बढाउनुपर्ने बताए । उनले ठुला ठुला टावर र भौतिक पूर्वाधार निर्माण गर्नुभन्दा जनताले प्रत्यक्ष अनुभुत गर्नेखालका काम हुनुपर्ने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया