दल

नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्छ : विद्यार्थी नेता

इकागज |
बैशाख २८, २०८० बिहीबार १५:१ बजे

काठमाडौँ- विभिन्न दल निकट विद्यार्थी संगठनका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै दबाबविना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार संवाद डबलीले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रविरुद्धको पनि अपराध भएकाले कुनै दबाबविना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले न्यायिक निष्कर्षमा पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने प्रश्न उठेकाले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताइन् । उनले राम्रो काम गर्नका लागि सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकारलाई कमजोर पार्ने काम गर्न नहुने धारणा राखिन् ।


त्यस्तै एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने भन्दै यसलाई पार्टीसँग जोडेर हेर्न नहुने बताए । उनले यस प्रकरणले विश्व जगतमा नेपालको नाम बदनाम भएकाले राष्ट्र द्रोह गर्नेलाई कारबाही हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको साथमा रहेको भन्दै कुनै दबाब र प्रभावमा नपर्न खबरदारी गरे ।

त्यस्तै अन्य विद्यार्थी संगठनका नेताहरूले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै भेदभाव नगरि संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका थिए ।


Author

थप समाचार
x