दल

नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान हाे : पोखरेल

इकागज |
जेठ १, २०८० सोमबार २१:९ बजे

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात र अपमान भएको बताएका छन् ।

राष्ट्रिय युवा संघले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले मानव बेचबिखनमा मुलुकको नाम जोडिनु अन्तर्राष्ट्रिय जगतमा नै लज्जास्पद भएको र यस प्रकरणमा राष्ट्रमाथिको घात र अपमान भएको बताएका हुन् । उनले उक्त प्रकरणमा बदमासी एउटाले गर्ने र संकेत अर्कोतर्फ गर्ने काम भएकाले त्यसप्रति सचेत हुन जरुरी रहेको बताए ।


एमाले नेतृत्वको सरकार भएका बेलमा बाँकी रहेका भुटानी शरणार्थीका विषयमा कार्यदल बनाइएको र कार्यदलले बनाएको प्रतिवेदनमाथि जालसाझी गरिएको पोखरेलले जिकिर गरे । पोखरेलले शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले भ्रष्टाचारका सबै काण्डहरूको छानबिन गर्न एमाले तयार रहेको भन्दै अहिलेको सत्ता पक्षपनि तयार हुनुपर्ने धारणा राखे ।

समाजमा रहेका सबै प्रकारका भेदहरूलाई अन्त्य गर्नका लागि युवाहरूले अगुवाइ गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा युवा संघका अध्यक्ष क्षितिज थेवेले मुलुकलाई सुशासनतर्फ अघि बढाउन युवा संघले निरन्तर सचेत गराएको बताए । उनले युवाहरूलाई मुलुकमा स्वरोजगार बनाउने गरी अभियान चलाउने काम युवा संघले गर्ने बताए ।


Author

थप समाचार
x