दल

आफ्नै जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो : अध्यक्ष लिङ्देन

इकागज |
जेठ ४, २०८० बिहीबार १६:५५ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला दलबीच सहमति भएको बताएका छन् । बिहीबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणको विरोध सभामा बोल्दै ​उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङ्देनले जनता बेच्ने भ्रष्टाचार ठूला दलहरूको सर्वदलीय सहमतिमा पुग्नु लज्जास्पद र दुःखदायी रहेको बताए । उनले विश्व जगतमा नेपालको बदनाम भएको भन्दै नेपालको शिर झुकेको जिकिर गरे । उनले नक्कली भुटानी शरणार्थी  प्रकरण पनि नेपाल प्रहरीको जोडबलमा र विदेशीहरूको चासोमा अगाडि बढेको बताए । यो काण्डको अनुसन्धान पूर्ण नभइकन फाइल अदालतमा जाने दिशामा रहेको लिङ्देनकाे भनाइ छ ।


उनले यो काण्डमा अर्बको भ्रष्टाचार मात्रै नभएर राज्यद्रोह र राज्य विरुद्धको अपराध भएको बताए । उनले भ्रष्टाचारमा संलग्न कुनै पनि मानिसहरूले उन्मुक्ति पाउनु नहुने उल्लेख गरे । नक्कली भुटानी शरणार्थी काण्डमा आकर्षित हुने सबै प्रकारका मुद्दाहरू चल्नुपर्ने उनकाे भनाइ छ ।

लिङ्देनले अपराधमा संलगनहरूलाई राज्यविरुद्धको अपराध, ठगी, संगठित अपराध र सरकारी दस्तखत कृत्य सम्बन्धीको अपूरा मुद्दाहरू चलाउन आग्रह गरे । उनले प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गर्न खुट्टा कमाउन नहुने बताए ।

उनले एउटा मात्रै काण्डको छानबिनले नपुग्ने भन्दै विगतका अन्य ठूलाठूला भ्रष्टाचार काण्डको पनि सरकारले छानबिन गर्नुपर्ने जिकिर गरे ।


Author

थप समाचार
x