दल

सुदूरपश्चिममा सरकार विस्तार स्थगित, चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि जुटेन सहमति

इकागज |
जेठ ५, २०८० शुक्रबार १८:२५ बजे

कैलाली- आज (शुक्रबार) हुने भनिएको सुदूरपश्चिम प्रदेशको सरकार विस्तार स्थगित भएको छ । भोलि (शनिबार) बिहान १० बजे शपथ ग्रहण गर्ने गरी सत्ता गठबन्धनको बैठक सकिएको माओवादी संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । 

सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालयकाे विषयमा सहमति नभएपछि आज सरकार विस्तार हुन नसकेको जनाइएको छ ।


चार मन्त्रालय अहिले मन्त्रीविहीन छन् । छलफलमा माओवादी र नागरिक उन्मुक्तिले २/२ र नेपाली कांग्रेसले १ मन्त्रालयको दाबी गरेका थिए । चार मन्त्रालयमा पाँच जनाको दाबी भएपछि सहमति जुट्न नसकेको हो ।

नागरिक उन्मुक्तिलाई १ मन्त्रालयमा मनाउने विषयमा छलफल भएको थियो । उनीहरूले यस विषयमा छलफल गर्ने बताएर बैठकबाट निस्किएका थिए । उनीहरूले भोलि (शनिबार) बिहानसम्म आन्तरिक छलफल गर्ने छन् । एक मन्त्रालयमै सरकारमा सहभागी हुने कि सरकारमा नजाने भन्ने विषयमा उनीहरूले निर्णय गर्ने जनाइएको छ ।

उनीहरूको सहमति भएमा भोलि तीन दलबाट नभए दुई दलबाट मन्त्री नियुक्त हुने छन् । माओवादी केन्द्रले पाउने २ मन्त्रीमा सहमति भइसकेको छ । रमेश धामी र झपट साउद मन्त्री बन्ने पक्का भएकाे छ । नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय भइसकेको छ भने नेपाली कांग्रेसले पृथ्वीबहादुर सिंहलाई मन्त्री बनाउने सम्भावना रहेको छ ।


Author

थप समाचार
x