दल

सरकारको प्राथमिकता भ्रष्टाचार अन्त्य : नेपाल

इकागज |
जेठ ६, २०८० शनिबार १२:२० बजे

फाइल फोटो

जनकपुरधाम - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सरकारको पहिलो प्राथमिकतामा अहिलेको राष्ट्रिय समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्ने हुनुपर्ने बताएका छन् । 

जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणको चर्चा गर्दै  देशैभरी अहिले समस्याको रुपमा भ्रष्टाचार रहेको र त्यसको अन्त्य हुनुपर्ने बताएका हुन् । 


सरकारले मुलुकमा सुशासन कायम गर्नकालागि कदमहरु उठाइरहेको उनले बताए । उनले भने ‘यो राम्रो विषय हो, सरकारले ल्याएको नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले एक अर्को प्रसंगमा रेशम चौधरीलाई रिहाइको लागि हामी सबै लागि परेको बताए । सर्वोच्च अदालतले उनलाई दोषी सावित गरिसकेको छ, हामी त्यसबाहेकका विकल्पको खोजीमा छौँ, उनले भने ‘अदालतले उनलाई निर्दोष सावित गर्ला भन्ने सोचेका थियौँ तर त्यस्तो भएन, रेशमजी टिकापुर घटनामा सहभागी पनि हुनु भएको थिएन, त्यसैले उनको रिहाई हुनु आवश्यक छ ।’

संचारकर्मीहरुको जिज्ञासामा नेपालले मधेस सरकारमा वर्तमान नेतृत्वलाई नै निरन्तरता दिने गरी गठबन्धन दलबीच सहमति भएको जानकारी गराउँदै गठबन्धनको मर्म अनुरूप सहभागी दलहरुलाई सहभागी गराउनेदेखि मन्त्रालय बाँडफाँडसम्मको जिम्मा मुख्यमन्त्रीलाई नै दिइएको बताए ।


Author

थप समाचार
x