दल

संक्रमणकालीन न्यायासँग सम्बन्धित विधेयकमा एमालेको पूर्ण समर्थन रहनेछ : उपमहासचिव ज्ञवाली

इकागज |
जेठ ७, २०८० आइतबार १८:३२ बजे

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहने बताएका छन् ।

आइतबार काठमाडौँमा आयोजित १४ औं राष्ट्रिय बेपत्ता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चाँडै नै संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट पास हुनेमा विश्वस्त रहेको बताए ।


ज्ञवालीले अन्य कुराहरूमा सत्तापक्षसँग आफ्ना विभिन्न असहमतिहरू भए पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भने कुनै असहमति नरहने स्पष्ट पारे । विधेयक टुंगोमा पुर्याउँदा दलहरूबीच पर्याप्त परामर्श, बेपत्ता पारिएका व्यक्तिका परिवारबीच पर्याप्त परामर्श र पीडितको न्याय हुने गरी पारित गर्नुपर्नेमा जोड दिए ।

उपमहासचिव ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको सत्य परिवारले थाहा पाउनुपर्ने, यसको जिम्मेवार को हो र राहत परिपूरणको व्यवस्था गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।


Author

थप समाचार
x