संवैधानिक व्यवस्थाविपरीत सरकारले न्यायपरिषदमा सदस्य नियुक्त गरेकाे ओलीकाे आराेप
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरीत सरकारले न्यायपरिषदमा सदस्य नियुक्त गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषदमा ६५ वर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहे पनि ७१ र ७७ वर्षका मान्छेलाई नियुक्त गरेको आरोप लगाएका हुन् ।
उनले यस विषयमा संविधान र कानुनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताए । ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषदकाे बैठक बस्न नसकेको र डेढ वर्षसम्म प्रतिपक्षीसँग संवाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गरे ।
वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले मुलुकमा आर्थिक लगायत विभिन्न समस्या देखिए पनि सरकार बेखबर जस्तै देखिएको तर्क गरे ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्यमान्यता विपरीतको काम गरे कारबाही गर्न अग्रसर हुने बताए । ओलीले एमालेमाथि सबैतिरबाट तीव्र हमला गरेर सिद्धाउन खोजे पनि पार्टीलाई अझ सशक्त रूपमा अघि बढाउने पनि बताए ।
अध्यक्ष ओली पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भए पनि पार्टीलाई शुद्धीकरण गर्ने मौका पाएको र शुद्धीकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुत अवस्थामा पुराएको दाबी गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया