तीन दलको बैठकमा के-के भयो सहमति ?
काठमाडौँ- प्रमुख तीन दलहरूबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसद्को रेकर्डबाट हटाउने सहमति जुटेको छ । शनिबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरूबीचको बैठकमा यो सहमति भएको हो ।
बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए । संसद्भित्र प्रमुख प्रतिपक्ष दलका नेतामाथि तथ्यहीन आरोप लगाएको भन्दै नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।
सोही विषयलाई टुंग्याइ सदन सञ्चालन गर्न आज शीर्ष तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूबीच छलफल भएको हो । भेटमा सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भन्ने निराधार आरोपको संसद्को रेकर्डबाट हटाउने र आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथिको आरोप निराधार रहेको कुरा सम्बोधनका क्रममा उल्लेख गर्ने सहमति भएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले जलहरी प्रकरणमा ओलीको संलग्नता नरहेको र तथ्यहीन आरोप रहेको कुरा प्रधानमन्त्रीले सम्बोधना गर्नेमा सबै तीन दल सहमत भएको बताए ।
‘सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्ष दलका नेतालाई इंगित गरी जुन जलहरी निर्माणको प्रक्रियामा सुनको भनेर पित्तलको हाल्ने काम भयो भनेर आरोप लगाउनुभयो, त्यस विषयमा नै छलफल केन्द्रित भयो, सबै नेताबीचमा पशुपति क्षेत्र विकास कोषले निर्माणको प्रक्रिया अघि बढाउने हो, त्यो काम पशुपति क्षेत्र विकास कोषको हो । सरकारले बजेट छुट्याउने काम गर्ने हो, यसमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्युको संलग्नता छैन र हुनसक्ने काम पनि होइन, यो तथ्यहीन र आधारहीन कुरा संसद्मा यसरी प्रस्तुत गर्ने कुराले जनतामा भ्रम सिर्जना हुन्छ, त्यो गलत भएको हो' उनले भने 'त्यसमा हामीले गलत नै भन्नुपर्छ यसमा सत्यता छैन भन्ने हिसावले प्रधानमन्त्रीज्यूले संसद्मा सम्बोधन गर्ने र भविष्यमा यस्ता तथ्य र आधारहीन कुरा माननियज्युहरूले अभिव्यक्त गर्न नपाउने भन्नेकुरामा छलफल भएको छ, प्रधानमन्त्रीज्यूले त्यो विषय सदनमा राख्नुहुन्छ । भिडियो रेकर्डबाट हट्छ, जलहरीको बारेमा आएको कुरा तथ्यहीन भएकाले रेकर्डबाट हट्ने सहमति भएको छ भने दुई अर्बको कुरा पनि निराधार भएकाले त्यो विषय पनि रेकर्डबाट हट्नेछ । हामीप्रति निराधार लागेको आरोपको खण्डन गर्न चाहन्छौँ ।’
सचेतक गिरीले सत्ता पक्षका सांसद दाहालले स्वास्थ्य उपकरणमा दुई अर्बको भ्रष्टाचारको कुरा पनि संसद्मा अभिव्यक्त गरेको भन्दै सो विषय पनि आधारहीन भएकाले संसद्को रेकर्डबाट हटाउने सहमति भएको बताए ।
उनले भ्रष्टाचारका जतिपनि मुद्दाहरूमा नेकपा एमाले छानबिन गर्न तयार रहेको बताए । संसद्को जेठ ९ गते बसेको प्रतिनिधि सभाको बैठकमा सांसद लेखनाथ दाहालले केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाइ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया