दल

पूर्वराजाप्रति झलनाथको टिप्पणी : मन्दिरमा पूजा गरेर राजतन्त्र आउँदैन

इकागज |
जेठ १३, २०८० शनिबार १५:२४ बजे

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किने सपना नदेख्न चेतावनी दिएका छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

पूर्वराजा शाह देशका विभिन्न स्थानमा अभिनन्दनमा हिँडिरहेको प्रसंग उठाउँदै उनले पूर्वराजाका गतिविधिबाट लोकतन्त्र गुम्ने स्थिति नरहेको बताए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी वा कुनै नयाँ पार्टी खोलेर संसदमा आए लोकतन्त्रको राम्रो पक्ष हुने बताए ।


उनले भने, ‘हाम्रा पूर्वराजा ज्ञानेन्द्र शाह अहिले विभिन्न ठाउँमा हिँड्दैछन् । अहिले सामान्य जनता हुन् । उनी मन्दिरमा जान्छन्, मन्दिरमा आस्थाका मानिस छन्, त्यो ठाउँमा गएर भावनालाई प्रयोग गर्न जान्छन्, अभिनन्दनका कुरा छन्, एक्सरसाइज त गर्नुस् तर हिजोको गद्दी फिर्ता आउँछ भन्ने सपना नदेख्नुस् । राप्रपाको अध्यक्ष बन्नुस्, वा एउटा पार्टी खोल्नुस्, त्यो लोकतन्त्रको पाटो हो, मन्दिरमा पूजा गरेर राजतन्त्र फर्किंदैन ।’

पूर्वप्रधानमन्त्री खनालले नागरिकतासम्बन्धी प्रावधान होसियारीपूर्वक सोच्नुपर्ने बताए । उनले देशको सामाजिक संरचनामाथि कुनै पनि व्यवधानका कार्यहरू हुने गरी कुनै प्रावधान राखेर नागरिकता ऐन बनाउनु राष्ट्रघाती हुने भन्दै राष्ट्रिय सहमतिका साथ टुंग्याउनुपर्ने र बहुमतको आधारमा जबरजस्ती गर्नु नहुने बताए ।

फरक प्रसंगमा उनले पशुपतिनाथको जलहरी पित्तलको बनाइएको प्रकरण बाहिरिएको भन्दै यसबारेमा विशेष अनुसन्धान हुन जरुरी रहेको उल्लेख गरे । 


Author

थप समाचार
x