पदमा नरहे पनि विकासमा मेरो ध्यान हुनेछ : नेता भट्टराई
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदमा नरहने पनि जिल्लाको विकासमा आफ्नो ध्यान हुने बताएका छन् ।
गत वैशाख १० गते सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका भट्टराईले आज आँबुखैरेनी गाउँपालिकामा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा आफूले कहिल्यै पनि पदलाई प्राथमिकतामा नराखेको उल्लेख गरे ।
“निर्वाचन लोकतान्त्रिक पद्धति हो, यो पद्धति ल्याउन देशमा ठूलो बलिदान र संघर्ष गरेका छौँ”, उनले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रमा जनताबाटै नेता छान्ने प्रणालीको संस्थागत विकास गर्न सफल भएका छौँ ।” नेता भट्टराईले निर्वाचनमा जित हार सामान्य भएको बताउँदै यसलाई खासै ठूलो कुरा मान्न नहुने उल्लेख गरे ।
भट्टराईले भने, “पञ्चायती निरङ्कुशताविरुद्ध राजनीति सुरु गरेको हुँ, पदका लागि राजनीति गरेको होइन । मैले चुनाव हार्दा पनि जिल्लाको विकास निर्माणमा मेरो प्राथमिकता हुनेछ ।”
भट्टराईले उपनिर्वाचनमा विजय हासिल गर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका डा स्वर्णिम वाग्लेलाई बधाई दिँदै उनको काम हेर्न बाँकी रहेको जिकिर गरे । उनले भने, “हामीले बहुसङ्ख्यक मतदातालाई बुझाउन सकेनौँ, मतदाताको मन जित्न सकेनौँ ।”
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया