दल

भारतीय दूतावास अगाडि राप्रपा युवा संगठनको विरोध प्रदर्शन

इकागज |
जेठ १९, २०८० शुक्रबार १३:३७ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ । भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार विरोध प्रदर्शन गरेको हो ।

नेपाली भूमि समेटिएको नक्सा भारतको संसद् भवनमा राखेपछि त्यसको विरोधमा उत्रनु परेको संगठनका नेता सुदीप फुयाँलले जानकारी दिए । उनले भारतले आफ्नो नक्साबाट नेपाली भूमि नहटाएसम्म आफूहरूको आन्दोलन नरोकिने चेतावनी समेत दिए ।


 

विरोध प्रदर्शनमा उत्रिएकाहरूले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए । उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग नेपाली भूमि फिर्ता लिने विषयमा कुरा समेत नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । विरोध प्रदर्शनीमा ‘भारतीय विस्तारवाद–मर्दावाद’,  ‘भारतीय सेना–लिपुलेक छोड’, ‘गो ब्याक–इन्डिया’, ‘कालापानी–लिपुलेक–लिम्पियाधुरा–हाम्रो हो’ लेखिएका प्लेकार्डहरू पनि प्रदर्शन गरिएको थियो ।


Author

थप समाचार
x