दल

एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन : सभापति देउवा

इकागज |
जेठ २०, २०८० शनिबार १४:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा कसैको विरोध गरेर पार्टी ठूलो नबन्ने बताएका छन् । शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको प्रथम जिल्ला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कुनै एक व्यक्तिलाई गाली गरेर पार्टी ठूलो नबन्ने देउवाकाे भनाइ छ । उनले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको भन्दै अब युवा पुस्ताकै पालो भएको उल्लेख गरे ।


उनले पार्टीका लागि काम गरेर पार्टीलाई बलियो बनाउन कसैले पनि नरोकेको स्पष्ट पारे । उनले पार्टी बलियो बनाउन जनताको काँधमा काँध मिलाइ जनसम्पर्क विस्तार गर्नुपर्ने बताए । आफूले नेपाली कांग्रेसलाई अहिले देशको ठूलो पार्टी बनाएको भन्दै आफूले सहयोग गर्ने मात्रै रहेको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस नेपालको राजनीतिमा सबैभन्दा ठूलो पार्टी भएको छ । अहिले सबै ठाउँमा नेविसंघले जितेको छ । गाली गरेर केही हुनेवाला छैन । काम गर्नुस् न पार्टी ठूलो बनाउनुस्, बलियो बनाउनुस् । विरोध गरेर पार्टी बन्नेवाला छैन, पार्टी बनाउनलाई जनताको काँधमा काँध र जनसम्पर्क नै हो । जनतामा जानुपर्छ । जनतामा जाने हो । एक जनालाई गाली गरेर पार्टी बलियो हुँदैन । सबै एक भएर गए पार्टी बलियो हुन्छ ।’

सभापति देउवाले सबै एकजुट भएर लागेमात्रै पार्टीलाई बलियो बनाउन सकिने बताए ।


Author

थप समाचार
x