'पहिचानको नाममा आक्रमण गर्ने घटनाको भर्त्सना'
विराटनगर- नेकपा एमाले कोशी प्रदेश समितिले पहिचानको नाममा आन्दोलन गरिरहेको समूहबाट पटकपटक एमालेका नेताहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना र निन्दा गरेको छ ।
पार्टीका कोशी प्रदेश अध्यक्ष तुलसीप्रसाद न्यौपानेको हस्ताक्षरित विज्ञप्तिमा कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार र संसदीय दलका उपनेता रामबहादुर रानामाथि आक्रमण गरेपछि पार्टी कोशी प्रदेशले घटनाको निन्दा गरेको उल्लेख छ ।
कोशी प्रदेश सरकारबाट सञ्चालन भएका विविध विकास आयोजनाको अनुगमन तथा जिल्ला भ्रमणका क्रममा यही जेठ २५ गते इलाम जिल्लाको देउमाई नगरपालिका–३ मङ्गलबारेबाट इलाम नगरपालिका–११ सोयाक भञ्ज्याङ पुग्दा एमाले केन्द्रीय कमिटिका सदस्यसमेत रहेका उपनेता रानालाई पहिचानवादी भन्ने अपरिचित समूहद्वारा बाटो अवरुद्ध गराई साङ्घातिक आक्रमणसहित गाडीमा मोबिल खन्याएर आगो लगाउने प्रयास भएको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी सोही दिन उदयपुर जिल्लाको श्री १८ नम्बर बाहिनी भुल्केमा रहेको सर्प दंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर विराटनगर फर्कने क्रममा उपसभामुख दनुवारलाई पहिचानवादी बताउने एक हुल मानिसले आक्रमण गर्नुका साथै त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईलाई लक्षित गरी नारा जुलुस गर्ने, उच्छृङ्खल गतिविधि गर्ने, ढुङ्गामुढा प्रहार गर्ने जस्ता आपराधिक क्रियाकलाप गरिएको विज्ञप्तिमा बताइएको छ ।
प्रदेश अध्यक्ष न्यौपानेले यस्ता अवाञ्छित, जघन्य र अपराधपूर्ण घटनाले नेकपा एमाले कोशी प्रदेशलाई गम्भीर बनाएको बताएका छन् । एमाले पार्टीका नेताहरू कार्यकर्तालाई लक्षित गरेर बारम्बार आक्रमण प्रयास गर्ने, पार्टीले आयोजना गरेका कार्यक्रम बिथोल्न प्रयास गर्ने, पार्टीका शीर्षस्थ नेता, मुख्यमन्त्री, मन्त्री र सांसदमाथि साङ्घातिक आक्रमण गर्ने, प्रहारको निशाना बनाउने जस्ता क्रियाकलाप पटक पटक हुने गरेकाले प्रहरी प्रशासनले त्यस्ता अपराधीहरूलाई कडा कारबाही गर्नुपर्ने माग गरिएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा दोषीलाई नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षा बहाल गर्न सङ्घीय सरकारसँग पनि माग गरिएको छ । एकतर्फी पार्टीका नेता, कार्यकर्तामाथि हुने गरेका आक्रमण र हिंसाका घटनाको डटेर प्रतिवाद गर्न आफ्ना कार्यकर्तालाई अध्यक्ष न्यौपानेले निर्देशनसमेत दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया