बजेटबारे गोकर्ण बिष्टको टिप्पणी : जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन
काठमाडौँ- नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पहुँचवाला व्यक्तिहरूको जिल्लामा केन्द्रित भएको आरोप लगाएका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ बजेट जुनकिरीको पिँधले स्वर्ग उज्यालो हुँदैन भने जस्तै रहेको टिप्पणी उनले गरेका हुन् ।
आइतबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले संसदमा प्रस्तुत बजेटले वर्तमान आर्थिक समस्या समाधान गर्न नसक्ने बताए । उनले बजेट औपचारिकतामा मात्रै सीमित भएको बताए । उनले आम नागरिकको लागि सरकारले ल्याएको बजेट कागलाई बेल पाक्यो हर्ष न विष्मात झैँ भएको बताए ।
सचिव बिष्टले सरकारले ल्याएको बजेटले जनतामा कुनै उत्साह पैदा गर्न नसकेको जिकिर गरे । उनले बजेटले विद्यमान आर्थिक संकट मन्दी र वर्तमान चुनौतीलाई सम्बोधन गर्न नसक्ने भन्दै अर्थतन्त्रले गति लिन नसक्ने दाबी गरे । उनले अर्थमन्त्री डा.प्रकाशशरण महतको जिल्ला नुवाकोट, प्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन जिल्ला गोरखा र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन जिल्ला डडेलधुरामा देशको सम्पूर्ण स्रोत साधन प्रयोग हुनु राम्रो नभएको बताए ।
विधि मापदण्ड, विवेक र न्यायका आधारमा बजेटको सही रूपमा विनियोजन हुन नसकेको उनकाे भनाइ छ । सचिव बिष्टले न्याय स्थापित गर्ने गरी बजेट ल्याउन नसक्दा अर्थमन्त्री, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको पहुँच भएका जिल्ला मात्रै बजेट जाने बताए । सरकारले ल्याएको असमानताको बजेटबाट बाँकी जिल्लाका जनताले कसरी न्याय पाउने र विकासको आश गर्ने भन्दै उनले प्रश्न गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया