दल

निर्वाचनमा अन्तरघात गर्नेलाई जसपाले कारबाही गर्ने

इकागज |
जेठ २८, २०८० आइतबार १८:३० बजे

फाइल फोटो

काठमाडौँ - जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । 

उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तरघात गर्ने नेता तथा कार्यकर्तालाई विधानमा भएको व्यवस्थाअनुसार कारबाही गर्ने निर्णय भएको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार पार्टीको विधानमा भएको व्यवस्थाअनुसार जो जहाँका समितिमा आबद्ध छन्, त्यही समितिले कारबाही गर्ने निर्णय भएको छ । स्थानीय तहमा रहेकालाई स्थानीय समिति, जिल्लामा रहेकालाई जिल्ला समन्वय समिति, प्रदेशमा रहेकालाई प्रदेश समिति तथा केन्द्रमा रहेकालाई केन्द्रीय कमिटीले कारबाही गरिने भएको छ ।


कारबाहीमा पार्टी सदस्यबाट हटाउनेदेखि लिएर नसिहतसम्मको कारबाही तोकिएको केन्द्रीय प्रचार विभाग प्रमुख बस्नेतले बताए । गएको मङ्सिर ४ गते सम्पन्न आम निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादव पराजित भएपछि त्यसको अध्ययन तथा छानबिनका लागि कार्यदल गठन गरिएको थियो । 

पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको सो कार्यदलले गएको फागुन २० गते पार्टी अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन बुझाएको थियो । कार्यदलले करिब डेढ महिना लगाएर ४८ जना केन्द्रीय सदस्यसहित एक सय ५२ जनासँग बयान लिइएको कार्यकारिणी सदस्य शिवलाल थापाले जानकारी दिए । उनका अनुसार जिल्ला जिल्लाबाट आएको उजुरीका आधारमा पार्टीका ती नेताहरुसँग बयान लिइएको थियो । रासस


Author

थप समाचार
x