दल

यथास्थितिबाट मुलुक अघि बढे दुर्घटना हुनेछ : कमल थापा

इकागज |
जेठ २९, २०८० सोमबार २०:७ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक यथास्थितिबाट अघि बढे दुर्घटनामा पर्ने बताएका छन् । 

राष्ट्रियता कमजोर भएको र विदेशी हस्तक्षेप तथा प्रभाव बढेर गएको उनको भनाइ छ । 'इतिहासकै डरलाग्दो आर्थिक मन्दी छ । भ्रष्टाचार संस्थागत भएको छ । बेरोजगारी र महँगीले आकाश छोएको छ,' थापाले भने । 


यही क्रम जारी रहे यथास्थिति मै मुलुक रहिरहने र दुर्घटनातर्फ देश धकेलिने उनले चिन्ता व्यक्त गरे । काठमाडौँका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै थापाले बजेटले कुनै आशाको किरण दिन नसकेको भन्दै मुलुकको जर्जर आर्थिक अवस्थालाई बजेटले सम्बोधन गर्न नसकेकोमा तीव्र आलोचना गरे । 

सस्तो लोकप्रियता र तालीका लागि भन्दा मुलुकको समस्याको दिगो समाधानतर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्नेमा थापाको जोड थियो । राप्रपा नेपाललाई सडक केन्द्रित बनाउँदै जनताको माझमा जाने नीति अनुरूप काम गर्नसमेत उनले कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा महामन्त्री राजाराम बर्तौला, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, बागमती प्रदेश इन्चार्ज माधव खत्री, काठमाडौँ अध्यक्ष श्याम घिमिरेलगायत जनवर्गीय संगठनका अध्यक्षहरूले बोल्दै आगामी कार्यक्रमको खाका प्रस्तुत गरेका थिए ।


Author

थप समाचार
x