जनयुद्धमा सामेल नभएकाहरूले प्रचण्डविरुद्ध मुद्दा हाले, प्रतिवाद गर्छौं : सचिव पौडेल
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सचिव तथा सांसद देवेन्द्र पौडेलले जनयुद्धमा सामेल नभएका व्यक्तिहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा हालेको आरोप लगाएका छन् ।
सोमबार संघीय संसद् भवन नयाँबानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव पौडेलले जनयुद्धमा सामेल नभएका र जनयुद्धप्रति अपनत्व नभएकाहरूले प्रधानमन्त्री दाहालका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हालेका बताएका हुन् । उनले नेपालको शान्ति प्रक्रियालाई भाँड्ने तत्वहरूले मुद्दा हालेका जिकिर गरे ।
उनले शान्ति प्रक्रिया भाँड्नका लागि माओवादी केन्द्र पार्टीलाई शान्ति प्रक्रियाबाट पछि फर्काउने हरकत गरिएको उल्लेख गरे । उनले माओवादीका विरुद्धमा मुद्दा हालेर देश शान्ति, अमनचयन र सुशासनको अध्यायमा प्रवेश गर्न नसक्ने उल्लेख गरे । सचिव पौडेलले शान्ति प्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्नु सबैको कर्तव्य र दायित्व भएको बताए ।
सचिव पौडेलले सर्वोच्च अदालतले शान्ति प्रक्रिया भाँड्ने क्रियाकलाप र गतिविधिलाई नियन्त्रण गर्ने विश्वास व्यक्त गरे । उनले प्रधानमन्त्रीलाई मनोवैज्ञानिक तनाव दिनका लागि मुद्दाको प्रसंग निकालिएको भन्दै यसको वैचारिक र सैद्धान्तिक रूपले प्रतिवाद गर्ने बताए ।
उनले देशमा संविधान निर्माण, गणतन्त्र स्थापना र समावेशी समानुपातिक प्रतिनिधित्वका लागि तत्कालीन समयमा जनयुद्ध गरिएको भन्दै आन्दोलनमा मानिसहरू हताहत हुनु स्वाभाविक भएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया