कोशीमा कांग्रेसलाई अरु दलले अस्वीकार गरे दलकै नेता फेर्न तयारः घिमिरे
विराटनगर - नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरले कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई अन्य दलहरुले अस्वीकार गरे दलको नेता नै फेर्न तयार हुनुपर्ने बताएका छन् । कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आएको खण्डमा अरु दलले अस्वीकार गर्ने अवस्था आउन नदिन दलको नेता फेर्न समेत तयार हुनुपर्ने उनले बताएका हुन् ।
मंगलबार सुनसरीको इटहरीमा आयोजित कांग्रेस रुपान्तरण अभियानबारे जानकारी दिन पत्रकार सम्मेलनमा बोल्दै घिमिरेले आवश्यक पर्दा दलको नेता फेर्न तयार हुनुपर्ने बताए ।
‘अन्य दल र विशेष गरी राप्रपाले संसदीय दलका नेतालाई स्वीकार नगर्ने बताएको छ, यदि उसले अन्य व्यक्तिलाई समर्थन गर्छ भने माओवादी पनि अहिले कांग्रेससँगै छ’ घिमिरेले भने, ‘यस्तो अवस्थामा दलको नेता फेर्न पनि कांग्रेस तयार हुनुपर्छ, दलका नेता बाधक बन्न हुँदैन ।’
उनले संविधान र कानुनको अवस्थालाई हेर्दै कोशी प्रदेशमा कांग्रेस अगाडि बढ्नुपर्ने बताएका हुन् । घिमिरेले दलका प्रदेशका संसदीय दलका नेता थापालाई राप्रपाले मुख्यमन्त्रीमा स्वीकार नगरेको जानकारी आएको भन्दै कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना रहेपनि जोखिम रहेको दाबी गरे ।
राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौला विगतमा कांग्रेसबाटै राजनीतिमा उदाएका झापाका प्रभावशाली नेता हुन् । उनी अहिले ६ सांसदसहित नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कुमार कार्की नेतृत्वको सरकारमा सहभागी छन् । उनी कांग्रेसमा रहँदा झापाकै प्रभावशाली कांग्रेस नेता कृष्ण प्रसाद सिटौला समुहबाट पेलानमा परेका थिए । पछि कांग्रेस नै त्यागेर राप्रपाको सक्रिय राजनीतिमा रहँदै आएका छन् ।
कांग्रेस संसदीय दलका नेता थापा पनि कांग्रेस नेता सिटौलाकै समुहका नेता हुन् । झापाको घरेलु राजनीतिले थापा र राप्रपाका सिटौलाबीच एकले अर्कोलाई अस्वीकार गर्ने अवस्था अहिलेपनि कायमै रहेको छ ।
सिटौला हाल कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारीमन्त्री रहेका छन् । उनले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारबाट जसपा र माओवादी केन्द्र बाहिरिएपनि सरकारलाई साथ दिइरहेका छन् ।
राप्रपाले कांग्रेसका संसदीय दलका नेता थापालाई अस्वीकार गर्ने अवस्थाको अन्त्य गर्नकै लागि घिमिरेले भने संसदीय दलको नेता फेर्न समेत कांग्रेस तयार हुनुपर्ने बताएका हुन् । कोशी प्रदेश सभामा कांग्रेस संसदीय दलमा २९ जना सभा सदस्य रहेका छन् ।
थापा भने नेपाली कांग्रेसको कोशी प्रदेश समितिको सभापति हुन् । यसअघि कांग्रेस प्रदेश समितिको निर्वाचनमा उनै थापासँग घिमिरे दुई मतले पराजित भएका थिए । निर्वाचनमा थापाले ८४४ र घिमिरेले ८४२ मत प्राप्त गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया