दल

ट्रेड युनियन कांग्रेसको महाधिवेशन सोमबारदेखि

इकागज |
असार ३, २०८० आइतबार १६:० बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन सोमबारदेखि सुरु हुने भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले आज पत्रकार सम्मेलन गरी असार ४ गतेदेखि ६ गतेसम्म महाधिवेशन हुन लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन कांग्रेसले विधानत ७७ वटै जिल्ला, सातवटै प्रदेश र २७ वटै आवद्ध राष्ट्रिय संघको अधिवेशन सम्पन्न गरी सातौँ महाधिवेशन गर्न लागेको जानकारी दिए । उनले नेपाल ट्रेड युनियन कांग्रेसले आफ्नो विधानमार्फत युवा र महिलाको सहभागीतालाई बढाएको बताए । जिल्ला, प्रदेश र आवद्ध संघमा महिला र युवा सहभागिता बढाउन नेपाल ट्रेड युनियन कांग्रेस लागेको आचार्यको भनाइ थियो । 


पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले वर्तमान समयमा श्रमिकका मुद्दा थप चुनौतीपूर्ण बन्दै गएकाले भोलिदेखि हुने महाधिवेशनले श्रमिकको मुद्दालाई व्यापक रुपमा उठाउने बताए । 

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव योगेन्द्र कुँवरले महाधिवेशनले नेपाली श्रमिकका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्ने बताए । उनले नेपाल ट्रेड युनियन कांग्रेसको गत वर्ष सम्पन्न राष्ट्रिय सम्मेलनबाट महासंघको अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुने जानकारी दिए । 

नेपाल ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा  ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउनका लागि सात सय ५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिए । रासस


Author

थप समाचार
x