दल

यस्तो छ समाजवादी मोर्चाबारे नेताहरूको प्रतिक्रिया

इकागज |
असार ३, २०८० आइतबार १७:४० बजे

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाइएको बताए । 

आइतबार बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई मिलाएर समाजवादी मोर्चा निर्माण गरेको टिप्पणी गरे । 


उनले सो मोर्चा वैचारिक मोर्चा हुने बताए । निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वाभाविक भएको उनको भनाइ छ । समाजवादको दिशामा अघि बढ्ने शक्तिहरू मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरूलाई समेट्दै जाने उनको जिकिर छ । 

‘हामी पवित्र भावना भएका, राम्रो उद्देश्य बोकेर अघि बढेका, समाजवादको दिशामा जान चाहने सबै शक्तिहरूलाई मिलाएर लानु पर्दछ भन्ने मान्यता बोकेर नै हामीले यो मोर्चाको कुरा ल्याएका छौँ । त्यसमा सहमत भएका पक्षहरूलाई हामी समेट्दै जानेछौँ । अहिले प्रारम्भिक चरणमा जो–जो सहमत हुनुभएको छ, उहाँहरू आउनु हुनेछ । देशभक्तहरू एक ठाउँमा हुनु के वैचारिक मोर्चा हो कि होइन ?’ उनले प्रश्न गरे, ‘लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ? वाम शक्तिहरू एक ठाउँमा हुनु, समाजवादी शक्तिहरू एक ठाउँमा हुनु वैचारिक मोर्चा हो कि होइन ?’ 

राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्रमा राजनीतिक दलहरूका बीचमा मोर्चा बनाउन पाइने टिप्पणी गरे । उनले यति चाँडै अर्को मोर्चा किन बनाउनुप¥यो भन्दै प्रश्न गरे । उनले सत्तारूढ दलहरूसँगको आफ्नो पार्टीको गठबन्धन लोकतन्त्र र गणतन्त्र जोगाउने सर्तमा भएको भन्दै सो गठबन्धन भने कायमै रहने प्रष्ट्याए । 

‘उहाँहरूसँग हाम्रो गठबन्धन लोकतन्त्र जोगाउने सर्तमा हो । यदि लोकतन्त्र नभएको भए अहिले तपाईँले र मैले यति कुरा गर्नसक्थ्यौँ ?,’ उनले भने, ‘लोकतन्त्रको पक्षमा उहाँहरू छउन्जेली हाम्रो सहकार्य हुन्छ । मतभेद कयौँ छ । लोकतन्त्र, गणतन्त्र जोगाउने उहाँहरूको जहिलेसम्म नीति रहन्छ, त्यतिखेर हाम्रो सहकार्य चल्छ।’

त्यस्तै, एकीकृत समाजवादी सांसद मेटमणि चौधरीले देशलाई स्थिर रूपमा अगाडि बढाउन राजनीतिक दलहरूका बीचमा एकता आवश्यक भएकाले मोर्चा बनाइएको बताए । कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने उद्देश्य रहेको भन्दै मोर्चा त्यसैको पहिलो खुड्किलो भएको उनको भनाइ छ । 

‘मुलुकलाई स्थिर रूपमा अगाडि बढाउनका लागि सकभर जति सकिन्छ धेरै राजनीतिक दलहरूको बीचमा एकता गर्ने, एकता गर्नका लागि मोर्चा बनाउनुपर्ने आवश्यकता भयो र मोर्चाको तयारी गरिरहेका छौँ । दोस्रो कुरा मुलुकलाई सैद्धान्तिक, वैचारिक रूपमा अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘नेपालको कम्युनिस्ट पार्टी, आन्दोलनलाई एकीकृत रूपमा अगाडि बढाउने मनसायका साथ मोर्चा पहिलो खुड्किलोको रूपमा अगाडि बढाएका छौँ । यसलाई हामी पार्टी एकताको प्रक्रियासम्म पुर्याउने गरी अगाडि बढेका छौँ ।’

यता, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद रघुजी पन्तले सत्ताभित्र ‘बार्गेनिङ पावर’ बढाउन मात्र मोर्चा गठन भएको बताए । उनले सो मोर्चाले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भुमिका खेल्न नसक्ने टिप्पणी गरे । सत्ता गठबन्धनभित्र आफ्नो पक्षलाई बलियो बनाउने मात्रै समाजवादी मोर्चाको तात्कालिक उद्देश्य रहेको उनको भनाइ छ ।

‘म त्यसले आफ्नो औचित्य, राजनीतिक, सैद्धान्तिक रूपमा पुष्टि गर्छ भन्ने त देखिरहेको छैन । तर, त्यसले सत्ताको संरचनाभित्र आफ्नो औचित्य पुष्टि गर्नसक्छ । सबै मिल्दाखेरी एउटा स्ट्रेन्थ त बन्छ । सत्ताको गणितलाई तलमाथि गर्न सक्ने एउटा स्ट्रेन्थ त बन्छ । त्यसको बार्गेनिङ क्षमता त बढ्न सक्ला,’ उनले भने, ‘तर त्यसले मुलुकको राजनीतिलाई सुविचारित र उपयुक्त दिशा दिन भुमिका खेल्छ भन्ने सम्भावना चाहीँ अहिलेसम्म मैले देखेको छैन । आफ्नो पक्षलाई सत्ता गठबन्धनभित्र बलियो बनाउने नै उहाँहरूको तात्कालिक उद्देश्य देखिन्छ ।’

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्राप्त राजनीतिक परिवर्तनलाई स्वीकार गर्दै संविधानको रक्षा र सफल कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता भएका राजनीतिक दलहरूका बीचमा मोर्चा बनाइएको टिप्पणी गरे । देशमा विकास, समृद्धि र सुशासन स्थापनाका लागि मोर्चा आवश्यक रहेको उहाँले बताउनु भयो । उनले सत्ता साझेदार दलहरूका बीचमा कुनै खट्पट भएर मोर्चा बनाउन नलागेको स्पष्ट पारे । 

‘क्रान्ति, परिवर्तन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार्ने र संविधानको रक्षा गर्ने, संविधानको सफल कार्यान्वयन गर्ने सामूहिक प्रतिबद्धता भएका राजनीतिक दल, विभिन्न पात्र र प्रवृत्तिहरूबीच हामीले समाजवादी मोर्चा बनाउन लागेका छौँ । यो समाजवादी मोर्चा बनाउने प्रश्न राजनीतिक प्रश्न हो,’ उनले भने, ‘यसको सरकार सञ्चालनसँग, सरकारलाई सहयोग गर्नका लागि एउटा वातावरण त बन्छ । तर, अहिले यो तत्काल सत्ता साझेदार दलका बीचमा कुनै समस्या पैदा भएर त्यसपछि समाजवादी मोर्चा बनाउन खोजिएको होइन । यो विशेष गरी विचारधारात्मक राजनीतिक प्रश्न पनि हो ।’ 

त्यसैगरी नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नफल्ने खेती भएको टिप्पणी गरे । उनले यो मोर्चाले कुनै लाभ दिन नसक्ने बताए । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरू समाजवादी आन्दोलनकै पक्षमा नभएको उनको भनाइ छ । उनले समाजलाई अगाडि बढाउन कुनै ठोस कार्यक्रम र योजना नहुनेहरूको मोर्चाले केही काम गर्न नसक्ने जिकिर गरे । 

‘समाजवादी मोर्चा भनिँदैछ, यो नफल्ने खेती, बिरुवा नअंकुराउने खेती हो । यसले कुनै लाभ दिन सक्दैन । उहाँहरूले जे आवरणमा, जे ब्यानरमा हामी गर्छौ भनेर कोसिस गर्दै हुनुहुन्छ, जबकी उहाँहरू समाजवादी आन्दोलनको पक्षमा हुनुहुन्न,’ उनले भने, ‘उहाँहरू कम्युनिष्ट आन्दोलन बलियो बनाउने उहाँहरूको स्पष्ट दृष्टिकोण छैन । उहाँहरूसँग कुनै समाजलाई अगाडि बढाउनका लागि कुनै ठोस कार्यक्रम र योजनाहरू छैनन् ।’

उनले सत्तारूढ दलहरूले समय–समयमा वाम लोकतान्त्रिक गठबन्धन र समाजवादी मोर्चा बनाइरहँदा आम जनताले ठीक पार्टी एमाले नै रहेछ भन्ने महसुस गर्न अवसर पाउने बताए ।


Author

थप समाचार
x