दल

महामन्त्री थापाप्रति लक्षित गर्दै कार्यवाहक सभापति खड्काले भने : औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव छैन

इकागज |
असार ४, २०८० सोमबार २१:३५ बजे

काठमाडौँ- उपप्रधान एवं रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताएका छन् । सोमबार काठमाडौँमा भएको ट्रेड युनियन कांग्रेसको ७ औंँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै उनले कसैप्रति औँला ठड्याएर परिवर्तन र रुपान्तरण सम्भव नरहेको जिकिर गरे । उनले आफ्ना कमजोरी र गल्तीहरू सच्याएर अघि बढ्नसके मात्रै रूपान्तरण सम्भव भएको बताए । उनले पार्टी र सरकारलाई जीवित बनाउने काम केन्द्रदेखि वडा तहका नेताहरूको रहेको बताए ।


उनले पार्टीको अहिलेको परिस्थितिलाई सुधारेर र सपारेर मात्रै तीव्र गतिमा समय सापेक्ष दिशातर्फ जान सकिने जिकिर गरे । उनले पार्टीमा सबैले निष्ठाको संकल्पसहित आफूलाई समर्पित गर्ने बेला आएको उल्लेख गरे । कार्यवाहक सभापति खड्काले पार्टीमा पनि समयसापेक्ष बदलाव आउने बताए । 

उपप्रधानमन्त्री खड्काले नयाँ संकलबाट सबै एकताबद्ध हुन र छलफलबाट सबै समाधान निकाल्न आवश्यक रहेको भन्दै एकले अर्काको दोष र गल्ती कोट्याएर स्थायी समाधान हुन नसक्ने बताए ।


Author

थप समाचार
x