दल

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री सिंहको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

इकागज |
असार ५, २०८० मंगलबार २१:३७ बजे

काठमाडौँ- नेपाली कांग्रेसले पार्टी बझाङका पूर्वसभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै मन्त्री सिंह आफ्नो धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंह गृहजिल्ला जाने क्रममा सवारी दुर्घटनामा परी निधन भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।


लामो समयसम्म नेपाली कांग्रेसको विभिन्न पदीय जिम्मेवारीमा रहेर काम गरेका स्वर्गीय सिंहले पार्टीको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ । सिंहको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको र नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको कांगेसले जनाएको छ ।

सिंहको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गहिरो दुःख व्यक्त गरेका छन् । 'कांग्रेस बझाङका पूर्वसभापति एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ, स्वर्गीय सिंहले पार्टी सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ,' कावा सभापति खड्काले भनेका छन् ।

उनले स्वर्गीय सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन् । उनले दुर्घटनामा घाइते भएकोमा शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।


Author

थप समाचार
x