एमाले सरकार बनाउन हत्तारिँदैन, मौका आए छोड्दैनः रघुजी पन्त
फाइल फोटो
काठमाडौँ - नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन् ।
आइत्बार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली काँग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने जनताको चाहना रहेकाले अहिले बजारमा विभिन्न टिका टिप्पणी भइरहेको बताए ।
उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको बताए । उनले अहिलेको सरकार एमालेले ढाल्नु नपर्ने बरु आफैँ असन्तुष्टि पोख्दै सरकार ढल्ने बताए ।
उनले भने, ‘अहिलेसम्मको प्रचलित कुरा के हो भने नीति कार्यक्रम फेल भयो भने र बजेट फेल भयो भने सरकार फेल हुन्छ भन्ने मान्यता छ, त्यो मान्यतालाई फेर्ने प्रयत्न गरेको, सरसल्लाह गरेको जस्तो त लाग्दैन । बजेटमा परिवर्तन पनि हुँदैन । बजेट पास गरिसकेपछि परिवर्तन गर्नुहोला त्यो उहाँहरुको कुरा भयो । तर सामान्यतया संसदबाट पारित गरेको बजेट हेरफेर गर्न नमिल्ने हो । यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन । उहाँहरुको अन्तरबिरोधबाटै सरकार ढल्छ । अहिलको सरकारको जुन खालको पर्फमेन्स छ, परराष्ट्रमामिलादेखि घरेलुमा र जनतालाई सुविधा दिने कुरामा यो सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ । एमालेले सरकार बनाउन हतारिनु हुँदैन, मौका आए छोड्नु हुँदैन ।’
सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया