दल

आमाको पदचाप पछ्याउँदै राजनीतिमा कोपीला

इकागज |
असार १४, २०८० बिहीबार १०:९ बजे

काठमाडौँ- बुधबार नेपाली कांग्रेसले नेपाल तरुण दलको तदर्थ समिति बनायो । विद्वान गुरुङको अध्यक्षतामा गठित नेपाल तरूण दलले साँझ सातै प्रदेशबाट सदस्यहरू मनोनयन गरेको पत्रहरू सार्वजनिक गर्‍यो ।

नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले ४ सय जनालाई तरुण दलको केन्द्रीय सदस्य बनाएको नाम सार्वजनिक गरेका हुन् ।


कोशी प्रदेशको १४ जिल्लाबाट कुन ७२ जनालाई सदस्यमा मनोनयन गरेको छ । ताप्लेजुङबाट कोपीला लिम्बुसहित ४ जना केन्द्रीय सदस्य बनेका छन् । पुर्वी नेपालको ताप्लेजुङमा जन्मिएकी कोपीला अगाडि बढ्ने पार्टीको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनिन् ।

महाधिवेश प्रतिनिधि बनेसँगै कोपीलाको राजनीतिका लागि ढोका खुल्यो । जसको मतले पार्टी नेतृत्त्व छनौट गर्थ्यो । उनको परिवारै नेपाली कांग्रेसको राजनीतिमा परिवारै होम्मिएका छन् । यतिखेर आमा लिलादेवी बोखिम प्रतिनिधि सभाको सदस्य छिन् ।

उनी आमाको पदचाप पछ्याउँदै सक्रिय राजनीतिमा लाग्ने मनसाय बोकेकी बताउँछिन् । तरुण दलको केन्द्रीय सदस्य बनेपछि अझ बढी राजनीतिमा लाग्ने हौसला मिलेको धारणा व्यक्त गरिन् ।

जसले तरुण दल भन्नसाथ युवाको समूह बुझाउँछ । युवाको भावना, विचारले राजनीतिमा मोड दिन सक्ने र  रचनात्मक बनाउन सक्ने उनको विश्‍वास छ ।

‘राजनीति सिक्ने र बुझ्ने क्रममा रहेकी छु । नेपाली कांग्रेसले राष्ट्रियता र लोकतन्त्रमाथि सधैँ विश्वास गर्छ,’ उनी भन्छिन्,’ राजनीतिमा रुचि जागेपछि नेपाली कांग्रेसले समाज र लोकतन्त्रलाई प्राथमिकतामा राखेको थाहा पाउँदा बढी सक्रिय भएर लागेको छु ।‘  

नेपालमा रहँदा उनी पार्टीलाई विजय गराउने अभियानमा लागिरहिन् । पार्टी मतले हारे पनि एजेण्डाले हार्नु हुँदैन भन्ने पक्षमा उनी थिइन् । स्थानीय, प्रदेश र संघको निर्वाचनमा पार्टीलाई सहयोग गर्दै हिडेको उनले बताइन् । ‘पार्टीका उम्मेदवारले पराजय भोग्दा जनताका लागि बनाइएका एजेण्डा हराएर जाने भएकाले पनि पार्टीलाई सहयोग गर्न लागिरहेको थिए,’ उनी सुनाउँछिन् ।

नेपालमा मात्र उनले राजनीति गरिनन् । प्रवासमा रहेर नेपाली कांग्रेसकी राजनीति गरिन् । बेलायतमा लामो समयसम्म बसेकी उनी त्यहाँ रहँदा जनसम्पर्क समिति बेलायतको सभापति बनिन् ।

पछिल्लो समय आमा लिलादेवीलाई सहयोग गर्दै नेपालमा बस्दै आएकी छन् । ‘आमा सांसद भएकाले पनि मैले हरेक कुरामा उहाँलाई सहयोग गर्दै आएकी छु,’ उनले भनिन्,’ आमाको सहयोगी भएर काम गरिरहेको छु । जिल्ला-जिल्ला दौड्नुपर्ने र पार्टीको काममा पनि सहयोग गरेकी छु ।‘

राजनीतिमा लाग्नुको प्रेरणा आमाबाट पाएको बताउँछिन । लोकतन्त्रका लागि आमाले पुर्‍याएको योगदानले उर्जा प्रदान गरिरहेको उनको भनाइ छ । आमाको सारथी बनेकी उनले यसलाई नेपाली कांग्रेसको पाठशालाको रुपमा लिएकी छन् ।

बेलायतमा रहँदा नेपाली कांग्रेसलाई विदेशी भूमीमा बिस्तार गरेको कोपीलाले बताइन् । पार्टीलाई प्रवासमा बिस्तार गर्न र सदस्यता वितरणमा पनि भूमिका खेलेको उनले स्मरण गरिन् ।

बेलायतको बसाइमा उनी त्यतिमा मात्र सिमित रहिनन् । एनआरएन बेलायतको सल्लाहकार र क्याम्ब्रली समाजको सचिव पनि बनिन् । कोपीला प्रवासमा रहँदा पनि सामाजिक काममा सक्रिय थिइन् । विभिन्न सामाजिक संघ-संस्थाको सदस्य रहिन् ।  

 

 


Author

थप समाचार
x