कांग्रेसलाई भ्रष्टाचारको संरक्षकका रूपमा जनताले चिनेका छन् : नेता केसी
काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस पार्टीलाई जनताले भ्रष्टाचारको संरक्षकका रूपमा चिनेका बताएका छन् ।
शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले कांग्रेसलाई जनताले भ्रष्टाचारको संरक्षकका रूपमा चिनेका बताएका हुन् । उनले कांग्रेसलाई जनताले विकृति र मनपरितन्त्रको संवाहकका रूपमा पनि चिनेका जिकिर गरे ।
उनले जनताहरू निराश भएर विकल्प खोजिरहेका भन्दै कांग्रेसको अहिलेको जस्तै नेतृत्व र विचार लिएर अगाडि बढेमा भविष्य चुनौतीपूर्ण हुने बताए ।
उनले भने, ‘लाज नमानी भन्नुपर्दा अहिले हामीलाई यथास्थितिको प्रतिनिधिका रूपमा जनताले चिनेका छन् । भ्रष्टाचारको संरक्षकका रूपमा जनताले चिनेका छन् । विकृति र मनपरीतन्त्रको संवाहकका रूपमा हामीलाई चिनेका छन् । त्यसले गर्दा जनतामा निराशाको स्थिति र अरु के विकल्प छ भनेर खोजीरहेका छन् । जनता विकल्प खोज्छन् । कसैलाई कुरेर बस्दैनन् । हामी अहिलेजस्तै नीति, अहिलेजस्तै नेतृत्व, अहिलेजस्तै विचार र अहिलेजस्तै बासी बानि, बासि प्रवृत्ति लिएर अगाडी बढ्यौँ भने आउने परिस्थिति कांग्रेसको निम्ति अत्यन्त चुनौतिपूर्ण हुन्छ । त्यो लोकतन्त्रको निम्ति पनि चुनौतिपूर्ण हुन्छ ।’
नेता केसीले कांग्रेसभित्र वैचारिक पुनर्जागरणको नयाँ क्रान्ति सुरु गर्नुपर्ने आवश्यकता रहेको जिकिर गरे । उनले आफूहरूले नयाँ विचार र दृष्टिकोणसहित सुध्रियौँ भन्ने सन्देश जनतालाई दिनुपर्ने बताए ।
उनले राष्ट्र र लोकतन्त्रलाई गति दिनको निम्ति पत्रकारिता क्षेत्रको ठूलो योगदान रहेको बताए । उनले सत्य र न्यायको निम्ति लेख्न र सत्यको बाटोमा हिँड्न पत्रकारहरूलाई आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया