एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल हुँदैन : योगेश भट्टराई
काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले नेतृत्वलाई प्रहार गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले कोशी प्रदेशमा पहिचान पक्षधरसँग सम्वाद छलफल गरेर समस्या हल गर्ने पक्षमा रहेको भन्दै एमाले नेतृत्वलाई प्रहार गरेर केही नहुने बताएका हुन् ।
उनले नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबैको भाषाभाषी, जातजातिलाई एमालेले स्वीकार गर्ने तर नेपाल राष्ट्र कुनै एउटा जातिको राष्ट्र नभएको बताए । एमाले सबैको साझा पहिचानको पक्षमा रहेको उनको भनाइ छ । उनले कोशी प्रदेशको नामकरणमा कसैको आपत्ति हुन सक्ने भएकाले संवैधानिक प्रक्रियाबाट भएको कुरालाई चित नबुझे अर्को संवैधानिक प्रक्रियाबाट बदल्न सकिने धारणा राखे । उनले समस्या समाधानका लागि सम्वादमा आउन पनि आह्वान गरे ।
त्यस्तै माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोशीको विषयमा साझा एजेन्डा बनाएर छलफलमा जाँदा मात्रै समस्या समाधान हुने बताए । कोशी प्रदेशमा संघर्ष समिति बनाएर नै आन्दोलन भइरहेको अवस्थामा कुनै दल विशेषको मात्रै आन्दोलन भनेर बुझ्न नहुने उनको भनाइ छ । सापकोटाले एमालेले कोशीको पक्षमा धेरै अडान लिएका कारण एमालेप्रति बढी विरोध भएको बताए । उनले बहुसंख्यक जनताको धारणा अनुसार विगतमा भएका त्रुटीलाई सच्चाउँदै अघि बढ्नुपर्ने जिकिर गरे ।
त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले कसैलाई आक्रमण गरेर समस्या समाधान नहुने भन्दै एमालेले पनि उग्र राष्ट्रवादीका नाममा एउटामात्रै पक्षमा अडान लिन नहुने र सत्तापक्षले पनि कसैलाई बाइपास गरेर जान नहुने बताए ।
खतिवडाले कोशीमा देखिएको समस्या वार्ताबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया