दल

प्रधानमन्त्रीलाई नेता रिजालको जवाफ : राष्ट्रपति बन्नु/नबन्नु गिरिजाबाबुका लागि मुख्य थिएन

इकागज |
असार १८, २०८० सोमबार १८:४९ बजे

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोइरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख विषय नरहेको स्पष्ट पारेका छन् ।

सोमबार नेपाल प्रेस युनियनले काठमाडौँमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले स्व.गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व. कोइरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चाताप लागेको बताएका थिए ।


प्रधानमन्त्री दाहालले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोइरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा आफूलाई पश्चताप लागेको बताएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोइरालालाई प्रधानमन्त्री दाहालले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरे पनि नपुग्ने बताए । उनले प्रधानमन्त्री दाहाललाई स्व. गिरिजाप्रसाद कोइरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न आग्रह गरे ।

उनले कांग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको बताए । उनले नेपालको वर्तमान राजनीति स्व. कोइरालाको दिशा निर्देशअनुसार चलेको दाबी गरे ।

नेता रिजालले प्रधानमन्त्री दाहालले १२ बुँदै सम्झौताको हरेक मसीको गहिराइलाई गम्भीरतापूर्वक बुझेर अघि बढे दाहालको राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने बताए ।


Author

थप समाचार
x