प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयोः उदयशमशेर राणा
फाइल फोटो
काठमाडौँ - सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहले आफूलाई प्रधानमन्त्री बनाउन भारतमा गएर पटक पटक पहल गरेको भन्ने अभिव्यक्ति बोल्न मिल्ने खालको नभएको उनले प्रतिक्रिया दिएका हुन् । बुधबार प्रधानमन्त्रीको सोही अभिव्यक्तिलाई लिएर एमालेसहितका विपक्ष दलहरूले राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध पारेका थिए । सोही सन्दर्भमा संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद राणाले प्रधानमन्त्री दाहालले सो विषयबारे संसदमा चाँडोभन्दा चाँडो स्पष्टीकरण दिनुपर्ने माग समेत गरे ।
एमालेसहितका विपक्ष दलहरूले त्यसप्रति आपत्ति जनाएपछि प्रधानमन्त्री दाहालले संसदमा उभिएर त्यसबारे स्पष्ट पार्नुपर्ने उनको भनाई थियो । सांसद राणाले भने, ‘हाम्रो यस सन्दर्भमा अफिसियल धारणाचाँही छैन । अव विपक्ष दल विशेष गरेर एमालेले प्रधानमन्त्रीजीले पुस्तक विमोचन गर्ने बेलामा केही कुरा बोल्नु भएको थियो । त्यसको बारेमा उहाँहरूले आपत्ति जनाउनु भयो । सायद भोलि प्रधानमन्त्रीले त्यसको जवाफ दिएर हाउसलाई हामी अगाडि बढाउँछौं । एमालेले राजीनामा खोज्यो । अव राजीनामाको माग उहाँहरुको हो । हाम्रो भनाई चाँही प्रधानमन्त्रीले हाउसमा आएर विपक्ष दलले बोलेपछि हामीलाई पनि स्पष्ट बनाई दिनु पर्छ । हामी बजेट शेसनमा छौं । निर्वाचन सकिएको ८ महिना भयो । ८ वर्षमा हुने घटना ८ महिनामै भएर सरकारले राम्रोसँग काम गर्न पाएको छैन । नेपाली काँग्रेसले सत्ताभन्दा पनि स्थिरतातिर हामी केन्द्रित छौं । कुनै पनि राजनीतिक दल सत्तातिर पनि केन्द्रित हुन्छ । तर, अहिलेको परिस्थितिमा हामी स्थिरतातिर केन्द्रित हुन्छौं भन्ने छ । उहाँले त्यो बोल्न नहुने हो । के सोचमा उहाँले बोल्नु भयो । अथवा के ब्याकराउण्डमा उहाँले त्यो बोल्नु भयो । त्यो चाही स्पष्ट पार्नु पर्छ उहाँले हाउसमा गएर । यसको बारेमा चाँडो सकेसम्म आज नभएपनि चाँडो आएर यसबारे प्रधानमन्त्रीले स्पष्ट पारिदिनु पर्छ ।’
सांसद राणाले आफ्नो पार्टी तत्काल सरकार परिवर्तन गर्ने पक्षमा भने नरहेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया