दल

कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको हो : आरजु राणा

इकागज |
असार २२, २०८० शुक्रबार १६:४६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छिन् । 

कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रीय कार्यसमिति सदस्यहरूको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भनिन्, 'विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।'


डा राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनःस्थापना र विसं २०६२/६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाइ नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन गरेर तरुण दलका कार्यकर्ताहरू लाग्नुपर्ने बताइन् ।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लडेको र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उनले उल्लेख गरिन् ।

डा राणाले कांग्रेसका नेताहरूको योगदान र आदर्शको अनुशरण गरी लोकतन्त्र र विधिको शासनका लागि लाग्न नेपाल तरुण दलका समग्र सदस्यहरूलाई आग्रह पनि गरिन् ।

कांग्रेस पार्टी र मुलुकको भविष्य नै तरुण दलमा आबद्ध देशका समग्र युवाहरूको हातमा रहेको भन्दै कांग्रेसका नेताहरूले देखाएको मार्गमा हिँड्न सबै तरुण सदस्यहरूलाई सुझाव पनि उनले दिइन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेकी राणाले नेपाली कांग्रेससँग विकास र समृद्धिको स्पष्ट नीति रहेको र कांग्रेसले लिएकै नीतिबाट मुलुक विकासको गतिमा अघि बढेको पनि उनले बताइन् । 

नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नेपाल तरुण दलको केन्द्रीय समितिका सदस्यहरूले आज डा देउवासँग अन्तरक्रिया गरेका थिए । 

सो अवसरमा डा राणाले हालै सदस्य थप भएको तरुण दललाई चुस्त एवं सक्रिय बनाई अघि बढ्न अध्यक्ष गुरुङलाई आग्रह पनि गरेकी थिइन् ।


Author

थप समाचार
x