राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि छिट्टै पुराना पार्टीहरूको जस्तै हुनेछ : घनश्याम भुसाल
काठमाडौँ- सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन् ।
दलाल, पुँजीवादले मुलुकमा ल्याएको समस्या समाधान गर्ने बाटोमा कुनै कदम नचालेकाले नयाँ दलका रूपमा आएको सो पार्टीको पनि छिट्टै बेहाल हुने अवस्था आउने उनको तर्क थियो । पार्टी निकट कानुनी व्यवसायीहरूको संगठन ‘समाजवादी पेसागत कानुन व्यवसायी संगठन’ले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव भुसालले दलाल, पुँजीवादले खडा गरेका समस्या समाधान नगरी कुनै पनि राजनीतिक दलहरू अघि बढ्न सक्ने अवस्था नरहेको तर्क समेत गरे ।
उनले मुलुकमा रोजगारी सृजना गर्न र सुशासन कायम गर्न पनि दलाल पुँजीवादले ल्याएको विकृतिविरुद्ध संघर्ष गरेर अघि बढ्नुपर्ने जिकिर गरे ।
महासचिव भुसालले दलाल पुँजीवादले मुलुकमा खडा गरेको समस्या समाधानका लागि बहस, पैरवी गर्न आग्रह गरे । उनले आफ्नो पार्टी मात्रै दलाल, पुँजीवादले निम्त्याएका समस्या समाधान गरी समाजवादतर्फको यात्रामा अघि बढ्ने कुराको सैद्धान्तिक मान्यतामा उभिएको दाबी समेत गरे ।
महासचिव भुसालले आफ्नो पार्टीले समाजवादको निर्माणको आधारहरू तय गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पार्टी निकट कानुन व्यवसायीहरूलाई समाजवाद निर्माणका लागि न्यायालयभित्र रहेका बिचौलिया तन्त्रको अन्त्य हुने गरी लाग्न पनि सचेत गराए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया