दल

एमालेमा वडा कमिटीको नेतृत्व नै निर्वाचनबाट चयन

इकागज |
असार २५, २०८० सोमबार २१:३१ बजे

विराटनगर- अधिकांश कमिटी र जनवर्गीय संगठनहरूमा समेत सर्वसम्मत नेतृत्व छान्न बाध्य हुँदै आएको एमालेभित्र मोरङको एउटा पालिकाको वडा कमिटी अध्यक्षका लागि पनि निर्वाचन भएको छ । एमालेको सांगठानिक रूपमा सबैभन्दा तल्लो वडा कमिटीको अध्यक्ष निर्वाचनबाट चुनिएका हुन् ।

पथरी शनिश्चरे नगरपालिकाको १ नम्बर वडा कमिटीको अध्यक्षमा १४१ मत प्राप्त गर्दै प्रदीपकुमार राई निर्वाचित भएका छन् । अध्यक्षका अर्का प्रतिष्पर्धी  सुनिल खत्रीले ६६ मत प्राप्त गरेका छन् ।


असार १८ गतेदेखि सुरु भएको वडा अधिवेशन निर्वाचनको प्रक्रियाबाट वडा कमिटी अध्यक्ष चयन गर्दै सोमबार सकिएको हो । नेतृत्वका लागि राई र खत्रीबीच सहमति नभएपछि लोकतान्त्रिक विधिबाट नेतृत्व चयन भएको एमाले केन्द्रीय सदस्य युवराज बाँस्कोटाले जानकारी दिए ।

एमाले जिल्ला कमिटी मोरङका दर्जन नेताहरूले सहमतिको प्रयास ग रेपनि उनीहरूले प्रतिष्पर्धा नै रुचाएर लोकतान्त्रिक विधिको उपयोग गरेका हुन् । वडा कमिटीका २४१ प्रतिनिधिहरू मध्ये २०७ जनाले मतदानमा सहभागी भएका थिए । अघिल्लो कार्यकालमा पनि अध्यक्षको जिम्मेवारीमा रहेका राई नै पुनः अध्यक्ष निर्वाचित भएका हुन् । ३१ सदस्यीय वडा कमिटीका लागि अधिवेशनबाट २५ सदस्यीय कमिटी चयन भएको केन्द्रीय सदस्य बाँस्कोटाले बताए ।

निर्वाचनका लागि जिल्ला कमिटी सदस्य भगतचन्द्र थपलियाको संयोजकत्वमा भवानीप्रसाद दुलाल र टिकाप्रसाद दंगाल रहेको निर्वाचन समिति गठन गरिएको थियो । 

उपाध्यक्षमा पुन्यबहादुर तामाङ, सचिवमा डिल्ली पौडेल, उपसचिवद्वयमा मिना कार्की र दुर्गाप्रसाद अधिकारी सर्वसम्मत र बाँकी सदस्यहरू सर्वसम्मत चयन भएका हुन् ।

सदस्यहरूमा साबित्रा कार्की, जानुका ढकाल, टेकबहादुर बस्नेत, लोकनाथ दुलाल, अमित लिम्बु, लिला गौतम, शोभाकुमारी शर्मा, लालबहादुर तामाङ, जयबहादुर तामाङ, काजी राई, शिवबहादुर लिम्बु, पूर्णिमा लिम्बु, रमेश राई, प्रमिशा धिमाल, लक्ष्मी सुवेदी, सरिता ढाकाल, राजकुमार गुरुङ र देवी राई रहेका छन् ।


Author

थप समाचार
x