दल

नयाँ पार्टीप्रति विश्वप्रकाशको कटाक्ष : खहरेबाट बिजुली निकाल्न सकिँदैन

इकागज |
असार ३०, २०८० शनिबार १८:४३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले खहरेबाट बिजुली निकाल्न नसकिने भन्दै नयाँ पार्टीहरूप्रति कटाक्ष गरेका छन् ।

उनले पुराना पार्टीका दिनहरू गए भन्दै आएका नयाँ पार्टीहरूले धर्ती, देश, धर्मशास्त्र, संस्कृतिहरू सबै पुराना हुन् भनेर बिर्सन नहुने बताए । उनले पुरानो नाता सम्बन्धहरूलाई तोडि राखेर नयाँको नाममा खहरेबाट बिजुली निकाल्न नसकिने बताए । उनले निरन्तर बगिरहेका नदीहरूबाट नै देशले विद्युत उत्पादन गर्नसक्छ भन्ने कुरा नबिर्सिन नयाँ राजनीतिक दलहरूसँग आग्रह गरे ।


महामन्त्री शर्माले कांग्रेस अझै बलियो, परिपक्व, संयमित र एकताबद्ध बन्नुपर्ने बेला आएको भनाइ राखे । उनले साउन २ गते बस्ने बैठकले नीति अधिवेशनको मिति घोषणा गर्ने र राष्ट्रव्यापी रूपमा अभियान घोषणा गरी पुरानो दललाई तरोतजकी बनाएर नवीन बनाउने क्रम सुरु हुने बताए ।

महामन्त्री शर्माले कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मिटरब्याजविरुद्धको विधेयकमाथि चुनौती आउन लागेको भन्ने कुरा राखेको भन्दै मन्त्रीहरूबाट यस्तो जवाफ सुन्न नचाहेको बताए । उनले सबैखालका चुनौतीलाई चिरेर मिटरब्याजको विधेयक संसदमा ल्याउनुपर्ने बताए ।


Author

थप समाचार
x