एमाले सचिवालय बैठक
कोशी सरकार भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग
संविधानवितरीत र संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार भएको एमालेको ठहर
काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक ढंगले गठन गरेको भन्दै तत्काल भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको छ ।
पार्टी कार्यालय च्यासलमा शनिबार बसेको एमाले सचिवालय बैठकले वर्तमान सत्ता गठबन्धनले संविधानको उल्लंघन गर्दै कोशी प्रदेशमा सरकार गठन गरेको भन्दै तत्काल भङ्ग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया आरम्भ गर्न माग गरेको हो । सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान वितरीत भएको र यो संसदीय अभ्यासमाथिको नाङ्गो प्रहार भएको एमालेको ठहर छ ।
बैठकले मिटरब्याज सम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्ब नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले सत्ता गठबन्धनले विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियाकलाप गर्दै आएको भन्दै भर्त्सना गरेको छ ।
सचिवालय बैठकले प्राकृतिक प्रकोपको घटनाका कारण ठूलो जनधनको क्षति भएकाले घरबार गुमाएकाहरूलाई तत्काल पुनर्स्थापित गर्न, राष्ट्रिय राजमार्गसहित सडक पूर्वाधारको यथाशीघ्र पुनर्निर्माण र जनजीवनलाई स्वाभाविक अवस्थामा फर्काउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताए ।
त्यस्तै बैठकले देशैभरी फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, वीमा रकम तत्काल भुक्तानी गर्न र राहत दिन सरकारसँग माग गरेको उनले बताए । बैठकले पार्टीको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको र अन्य केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको ज्ञवालीले जानकारी दिए ।
त्यस्तै उपमहासचिव ज्ञवालीले साउन २ देखि ६ गतेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको जानकारी दिएकाे भने बैठकले पार्टी सदस्य नवीकरणको म्याद असार मसान्तभित्र सम्पन्न हुने भएकाले साउन १५ भित्र सबै विवरणलाई अद्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया