संसदीय दलको नेता बदल्ने कुरा पार्टी सभापतिबाटै सिकेको हुँः महामन्त्री थापा
फाइल फोटो
काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेता बदल्ने प्रयास जारी राख्नुपर्ने बताएका छन् ।
आइतबार संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवाबाटै आफूले संसदीय दलको नेता बदल्नुपर्छ भन्नेकुरा सिकेको बताए । उनले आफू संसदीय दलको नेतामा हारेपछि पुनः संसदीय दलको नेता बन्नका लागि प्रयास जारी राखेको र यो सामान्य प्रक्रिया भएको बताए ।
उनले संसदीय दलको नेता बन्न पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिष्पर्धा गरिसकेपछि फेरि गर्न नपाउने भन्ने उल्लेख नगरेको भन्दै संसदीय दलको नेतामा लडिसकेपछि अहिले पनि त्यही योग्यता आफूसँग रहेको बताए । उनले मौका हेरिराख्ने र मौकामा संसदीय दलको नेता बन्ने प्रयास नगर्नु अस्वभाविक हुने बताए ।
उनले भने, ‘मैले संसदीय दलको नेतामा प्रतिष्पर्धा गरेको हो । हाम्रो पार्टीको संसदीय दलको विधानले एकपटक प्रतिष्पर्धा गरिसकेपछि फेरि गर्न पाउँदैनस् भनेर भेनेको छैन । प्रतिष्पर्धा गर्ने बेलामा मैले आफूलाई योग्य ठानेर नै प्रतिष्पर्धा गरेको हो । यो बीचमा मेरो योग्यता घटेको जस्तो मलाई लाग्दैन । मैले साथीहरुसँग सरसल्लाह गर्ने, मौका कुरिराख्ने, कतिबेला मौका आउला भनेर हेरिराख्ने गरेन भने चाहीँ अस्वभाविक हो । त्यो मैले गर्नैपर्छ । यो सबैकुरा मैले आदरणीय नेता शेरबहादुर देउवाबाटै सिकेको हो । संसदीय दलको नेता बदल्ने प्रयास गरिराख्नुपर्छ भन्नेकुरा पार्टी सभापतिबाटै सिकेको हुँ । गिरिजाप्रसाद कोइरालासँग लड्दै गर्दा जसरी शेरबहादुर देउवा थाक्नुभएन, त्यसरी नै लागेको हुँ । सामान्य कुरा हो ।’
महामन्त्री थापाले संसदीय दलको नेता बदल्ने कुरामा आफू निरन्तर लागिरहने बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया