दल

जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छः राजेन्द्र लिङदेन

इकागज |
साउन १, २०८० सोमबार १७:१ बजे

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय नभएको बताएका छन् । 

नेपाल सनातन धर्म, संस्कृति, संगठनद्वारा आयोजित सनातन हिन्दु राष्ट्रको लागि पदयात्रा कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा भएकाले उनीहरुलाई बुझाउनका लागि पदयात्रा गरेको बताए । 


उनले राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले पदयात्रा कार्यक्रम गरेकाले आगामी दिनमा थप कार्यक्रम गर्दै जाने बताए । उनले शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना आफूले चाहेको बताए । उनले विगतमा भावावेश र विदेशीको दबाबमा आएर हिन्दु राष्ट्र हटाइएपनि अब सच्चिन राजनीतिक दलहरुलाई आग्रह गरे । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने भएकाले जनता राप्रपाको मुद्दामा समर्थन गरिरहेको बताए । 

उनले भने,  ‘हामीले उठाइरहेको हिन्दु राष्ट्रको मुद्दा बहुसंख्यक नेपालीहरुले उठाएको मुद्दा हो । जसको मुद्दा हो उसैलाई बुझाउन नसकिएको, उसैले नबुझेको अवस्था हो । राप्रपाले सनाधन, धर्म, संस्कृतिको रक्षार्थ जनचेतना जगाउने र हिन्दु राष्ट्र अभियान सञ्चालनका लागि जनचेतना फैलाउने उद्देश्यले गरेका हौँ । यो अब निरन्तर चलिरहन्छ । हामीले कसैको सिको गर्नुपर्ने छैन, हामीले नितान्त आफ्नै संस्कृति, परम्पराको रक्षा गर्न यो कार्यक्रम अघि बढाएका हौँ । शान्तिपूर्ण बाटोबाट हामी नेपालमा हिन्दुराष्ट्र पुनः स्थापना चाहन्छौँ । हामीले अन्य राजनीतिक दलसँग पनि कुरा गरिरहेका छौँ की विगतमा भावावेशमा आएर अथवा विदेशीको दबाब र प्रभवमा परेर गरेको निर्णय गलत छ, गलत बाटोले देशलाई कुनै निस्कर्षमा लैजान सक्दैनौँ । जुनसुकै बाटोबाट भएपनि हिन्दुराष्ट्र कायम हुनुपर्छ भनिरहेका
छौँ । राजनीतिले धर्ममाथि हस्तक्षेप गरेपछि, राजनीतिले हिन्दुराष्ट्र समाप्त गरेपछि यो रामनामी ओढेर मात्रै फर्किंदैन, यसमा राजनीतिक दृष्टिकोणमा हिन्दुराष्ट्र पुनःस्थापनालाई राखेको छ । हिन्दु राष्ट्रको मुद्दा उठाउनु स्वार्थ र सत्तासँग केन्द्रित विषय होइन । राजतन्त्र फर्किने कुरा जनतामा निर्भर हुने कुरा हो, धेरै जनता हाम्रो मुद्दामा सहमत हुनुहुन्छ, पुनः स्थापना हुन सम्भव छ ।’

पदयात्रा कार्यक्रममा बोल्दै राप्रपा सांसद दीपकबहादुर सिंहले पदयात्रामा राप्रपाको हलोमा भोट दिनुस् भनेर नमागेको भन्दै आफूले हरहर महादेव भनेर आएको बताए । उनले अर्को चुनावमा ७० सिट ल्याउने बताए । उनले २४ बुँदे समझदारी गरेर सरकारमा राप्रपा सहभागी भएपनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई दौरा सुरुवालमा राप्रपाले लगाएर हिँड्न बाध्य भएको बताए । उनले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न आनाकानी गरेपछि सरकार छोडेको बताए । 

सांसद सिंहले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा कुनैपनि हालतमा राप्रपा सहभागी नबन्ने दाबी गरे । राप्रपाले मैतीदेवीदेखि पशुपतिनाथसम्म पदयात्रा गरेको हो ।


Author

थप समाचार
x