दल

कांग्रेसले राष्ट्रपति पाउने सहमतिमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका थियौँ : उपप्रधानमन्त्री खड्का

इकागज |
साउन २, २०८० मंगलबार १७:६ बजे

काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति तथ उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले राष्ट्रपति पाउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिएको बताएका छन् । मंगलबार कांग्रेस पार्टी कार्यालय, सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

कांग्रेसले विश्वासको मत दिएसँगै गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र कांग्रेस सरकारमा पुगेको उनको भनाइ छ । ‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्वलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ,’ उपसभापति खड्काले भने, ‘त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो । त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली कांग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।’


उनले अगाडि भने, ‘त्यही विश्वासको मतबाट पुस १० गते भत्किएको गठबन्धन पुनःस्थापित हुने राजनीतिक वातावरण बन्यो । त्यही वातावरण स्वरूप रामचन्द्र पौडेललाई राष्ट्रपतिका रूपमा निर्वाचित गर्यौँ ।’ 

उपसभापति खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्ने खालको काम गर्नुपर्ने समेत बताए । जनताको अपेक्षा पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूले सरकारमा रहेर कुनै गल्ती र कमजोरी नगरेको उनले बताए ।

उपसभापति  खड्काले सरकारले गर्नुपर्ने कामबारे केन्द्रीय समितिले ध्यानाकर्षण, सुझाव तथा निर्देशन दिने विश्वाससमेत व्यक्त गरे ।


Author

थप समाचार
x