दल

पार्टीको समस्या सिटामोलबाट हल हुने अवस्था छैन, सर्जरीकै आवश्कता छ : प्रदीप पौडेल

इकागज |
साउन ५, २०८० शुक्रबार १३:२४ बजे

काठमाडौँ–नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसमा स्वास्थ्यमा समस्या भएकाले यसको सर्जरीकै आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।


‘पार्टीलाई सुधार गर्न जरुरी छ,’ उनले भने, ‘पार्टीको स्वास्थ्यमा समस्या छ । सिटामोलबाट यो समस्या हल हुने स्थिति छैन । कतिपय अवास्थामा सर्जरीकै आवश्यकता छ । लामो समयदेखि भएका विभिन्न घटनाहरूका कारणले पार्टीमा पलायन, निक्रियता र विद्रोहको मानसिकता देखिन थालेको छ । हामीले यो स्थितिलाई अन्त्य गर्न सक्नुपर्छ ।’

उनले अगाडि भने, ‘मेरो विचारमा पदाधिकारी ज्यूहरूबाटै अनुमोदन भएर महामन्त्री ज्यूहरुले यहा प्रस्ताव पेश गर्नुभएको छ । विद्यमान विधानमा रहेर यो भन्दा फराकिला कुरा गर्ने स्थिति छैन । यति मात्रै कुराले कांग्रेस रूपान्तरित भएर आएको भन्ने प्रमाणित गर्न सक्दैनौँ ।'

नेपाली कांग्रेस ‘मास बेस’ पार्टी भएकाले यसमा सदस्यताको वर्गीकरण नहुनेसमेत  पौडेलले बताए । ‘सदस्यता दिने र लिने हुँदैन, मेरो विचारमा सदस्यता जसले खोजेको हुन्छ,’ उनले भने, ‘त्यसले पाउने व्यवस्था हुनुपर्छ । एक प्रकारको मात्रै सदस्यता हुनुपर्छ । त्यो सदस्यता लिन चाहनेलाई दिनुपर्छ ।’

सदस्यता दिने प्रावधान पनि सहज हुनुपर्नेमा उनले जोड दिए । 


Author

थप समाचार
x