खाणलाई लक्षित गर्दै पौडेलले भने– यो भावनाको होइन, कानुनकाे विषय हो
काठमाडौँ–कांग्रेस नेता प्रदीप पौडेलले नेता बालकृष्ण खाणको विषयलाई लक्षित गर्दै भ्रष्टचारको विषय भावनाको नभइ यो कानुनी प्रश्नको विषय भएको बताएका छन् ।
शुक्रबार सानेपामा जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै पौडेलले यस्तो बताएका हुन् ।
‘भ्रष्टाचार र सुशासनको सन्दर्भमा म के आग्रह गर्न चाहन्छु भने,’ उनले भने, ‘हाम्रा केही नेताहरू अप्ठेरोमा हुनुहुन्छ, थप अप्ठेरो बनाउन खोजेको होइन । पार्टीलाई बचाउन खोजेको हो । मैले सजिलो बनाएर सजिलो हुँदैन । म आग्रह गर्न चाहन्छु यो भावनाको विषय होइन । यो एउटा सिद्धान्तको विषय हो । यो नैतिक प्रश्न मात्रै होइन कानुनी प्रश्न पनि हो ।’
उनले भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसले सहयोग गर्नुपर्ने समेत बताए ।
‘जति पनि घटनाहरू छन् त्यसको निष्पक्ष छानबिन गर्न कांग्रेसले सहयोग पुर्याउनुपर्छ,’ उनले भने, ‘कानुनी प्रावधानलाई आफैँ भित्र पूर्णरुपमा कार्यान्वयन गरिने स्थिति निर्माण गर्नुपर्छ । अझ गणतन्त्र पछि भएका जति पनि चर्चित घटनाहरू छन् ति सबैको छानबिनको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्छ ।’
गणतन्त्रपछिका उच्च पदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग कांग्रेसले राखेर त्यो प्रक्रियाको नेतृत्व कांग्रेसले गर्नुपर्ने उनको माग छ । व्यक्तिले कमजोरी गरे पनि पार्टीले कमजोरी गर्नु नहुनेसमेत पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया