सरकारको राजदूत नियुक्ति प्रक्रियाप्रति उपेन्द्र यादवको असन्तुष्टि, समावेशी नभएको गुनासो
काठमाडौँ- सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । आफ्नै पार्टी समेत सहभागी भएको सरकारले एउटै समुदायलाई मात्रै राजदूतमा सिफारिस गरेको उल्लेख गर्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
सरकारले विभिन्न ६ देशका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । पार्टी निकट कानुन व्यवसायीहरूको संगठन संघीय कानुन व्यवसायी संघले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले ती सिफारिस गरिएका सबै राजदूतहरू एउटै समुदायको रहेको उल्लेख गर्दै त्यसलाई कसरी समावेशी लोकतान्त्रिक अवधारणा अनुसारको नियुक्ति भन्ने भनि प्रश्न समेत गरे ।
उनले सरकारले गरेका राजनीतिक नियुक्तिहरू पनि समावेशी हुन नसकेको जिकिर गरे । अध्यक्ष यादवले जनसंख्याका आधारमा जनप्रतिनिधिमूलक संस्थाहरूको प्रतिनिधित्व गराउनुपर्नेमा त्यसो नभएको समेत दोहोर्याए ।
अध्यक्ष यादवले संवैधानिक तथा कानुनी क्षेत्रमा संघीयता अनुकूलका धेरै कामहरू गर्नुपर्ने भएकाले त्यसको पक्षमा उभिन पनि पार्टी निकट कानुन व्यवसायीहरूलाई आह्वान गरे । उनले स्थानीय तहहरूमा न्यायिक समितिको जिम्मा राजनीतिक पार्टीहरूलाई नै दिने संवैधानिक व्यवस्था गरिएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग समेत गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया