दल

सुन प्रकरणमाथि उठेका प्रश्नको जवाफ दिनुपर्छ : महासचिव पोखरेल

इकागज |
साउन ६, २०८० शनिबार १४:३७ बजे

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन प्रकरणमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।

सुन पक्राउलाई स्वागत गरेका एमाले महासचिव पोखरेलले ‘एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कस्को संलग्नता छ र क-कस्को संरक्षण छ ?’ भन्ने जवाफ दिनु पर्नेमा जोड गरेका छन् ।


उनले नेपालमा चल्ने अधिकांश मोटरसाइकल र स्कुटर भारतीय हुँदाहुँदै चिनियाँ मोटरसाइकलमा प्रयोग हुने समान निरन्तर ल्याउँदै गर्दा पनि किन शंकाको घेरामा राखेर अनुसन्धान नगरिएको भन्दै थप प्रश्न पनि गरेका छन् । 

एमाले महासचिवको प्रश्न जस्ताको तस्तैः

सुन प्रकरणमा सत्तामा रहेका विशेषगरी माओवादी पक्षधरहरूबाट अरुको गालामा बियाँ टास्ने धन्दा जारी छ । उनीहरूबाट जो सत्तामा छ, ऊ सँग प्रश्न गर्नु भनेको अपराध हो भन्ने भाष्य खडा गर्न खोजिँदैछ । के कुनै एउटा राम्रो काम गरेका आधारमा सत्ता पक्षधरहरूले सबै प्रकारका कमजोरीबाट उन्मुक्ति पाउनु पर्दछ भन्ने सत्ता पक्षीय दृष्टिकोण हो ? १०० किलो सुन प्रकरणमा पनि त राजश्व अनुसन्धान विभागको नेतृत्वले जस पाएकै छ । बाहिर सुन समातिएका आधारमा एअरपोर्टको सुरक्षा  प्रणाली र भन्सार प्रशासनले उन्मुक्ति पाउँछ र ? अनि त्यसको नेतृत्व गर्ने सरोकारवाला नेतृत्व माथि प्रश्न उठाउने कुरा अनुचित हुन्छ र ? हुँदैन । सत्ताको नेतृत्व गरिरहेको सरोकारवाला निकायले यी प्रश्नहरूप्रति जवाफदेही बन्नै पर्दछ । 
 
१. एअरपोर्ट भन्सारबाट १०० किलोभन्दा बढी सुन बाहिरिएको तथ्य सुराकीले दिएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले समात्न सफल भएको घटनाबाट पुष्टि भएको छ । के यसमा एअरपोर्टको सुरक्षा प्रणाली र भन्सार प्रशासनको मिलोमतो र जानकारी विना यस्तो कुरा सम्भव हुन्छ ?

२. नेपालमा अधिकांश भारतीय उत्पादनका मोटरसाइकल प्रयोगमा छन् । तर मोटर साइकलको उपकरण चाही हंगकंगबाट त्यो पनि हवाईमार्गबाट पटक पटक आउनुलाई के स्वाभाविक मान्न सकिन्छ ? यसमा राज्यका निकायको ध्यान जानुपर्ने होइन ? 

३. आयातकर्ता कम्पनीको मालिक एक जना दैनिक ज्यालादारीमा काम गर्ने अबोध मजदुर रहेको तथ्यले यो गिरोह कति धुर्त र पहुँचवाला रहेछ भन्ने देखिन्छ । यति ठूलो पैमानामा कारोवार हुने कम्पनीका बारेमा सरकार यसरी वेखवर बस्न मिल्दछ र ? अवोध मजदुरलाई प्रयोग गरेर कम्पनी दर्ता गर्ने र कारोवार गर्नेहरू को हुन् ? राज्यको निकायले खोज्नु पर्दैन ? सत्यतथ्य बाहिर ल्याउनु पर्दैन ?

४. कतै यस प्रकरणमा राजश्व अनुसन्धान विभागमा नयाँ नेतृत्व आएका कारणले वा गिरोहका बीचमा विवाद भएका कारणले तस्करीको योजना असफल भएको त होइन भन्ने कुरालाई आधार बनाउने हो भने यस अघि पनि यसरी नै ठूलो पैमानामा सुन तस्करी भएको देखिन्छ । के अनुसन्धान त्यहाँसम्म पुग्नु  आवश्यक छैन र ?

५. शासकीय जिम्मेवारी र दायित्व भनेको अरुले गरेको राम्रो कामको जस लिन होडबाजी गर्ने कमजोरीको हकमा भने टकटकिने चाही होइन होला नि ? यस अर्थमा एअरपोर्टको प्रशासन, सुरक्षा निकाय र भन्सार प्रशासन कहाँ कस्को संलग्नता छ र क कस्को संरक्षण छ ? भन्ने कुरा पनि नागरिक चासोको विषय बनाउ । राष्ट्रको प्रतिष्ठामा नै आँच आउने यस्तो विषयमा गम्भीर बनौँ । आशंकित सबैलाई छानबिनको दायरामा ल्याउन विलम्ब नगरौँ ।


Author

थप समाचार
x