दल

मधेश समृद्ध नभएसम्म देशको मुहार फेरिँदैन : एमाले उपमहासचिव ज्ञवाली

इकागज |
साउन ६, २०८० शनिबार २०:२१ बजे

बारा- नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश समृद्ध नभएसम्म देशको मुहार नफेरिने बताए ।

'मधेशमा लामो समय नेपाली कांग्रेसले र २०६४ यता मधेश केन्द्रित दलहरूले राज गरिरहे पनि विकास, स्वास्थ्य र शिक्षाको अवस्था विकट जिल्ला कर्णालीको भन्दा पनि कमजोर पारिएको छ । यो मधेशका लागि दुखदायी विषय हो,' उनले भने ।


एमालेको स्कुल विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार सञ्चलनप्रति इङ्गित गर्दै वर्तमान सरकार देश र जनताका पक्षमा नभई विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पूरा गरिदिने कडी बनेको उनको भनाइ थियो । 'भारतले चाहेका जलविद्युत् आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ वर्षदेखि अलपत्र पारेको माथिल्लो कर्णालीका सम्बन्धमा कुनै सम्वाद नगरि थप दुईवटा आयोजना पुन: जिम्मा लगाउने काम भएको छ,' उनले भने ।

यस्तै सरकारले ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा स्टन्ट गरिरहेको उनको भनाइ थियो । भ्रष्टाचारको छानबिन गर्न पहिला सरकारमा रहेकाहरू सफा हुनुपर्ने उनले बताए ।


Author

थप समाचार
x