दल

अहिले घण्टी आयो, सुध्रिएनौँ भने शंख पनि आउँछ : भुसाल

इकागज |
साउन ६, २०८० शनिबार २१:२४ बजे

विराटनगर- नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले राजनीतिक पार्टीहरूकै कारण ‘घण्टी’ अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको दाबी गरेका छन् । उनले पार्टीहरू नसुध्रिए शंख पनि आउने टिप्पणी गरेका गरे ।

शनिबार विराटनगरमा आयोजित ४५औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव भुसालले घण्टीको उदयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै मुख्य कारण रहेको आरोप समेत लगाए ।


‘अहिले घण्टीले केही पनि गरेको छैन, हावाहुरीबाट आएको जस्तो देखिन्छ, तर हामी सुध्रिएनौँ भने घण्टीमात्रै होइन, शंखको पनि उदय हुन सक्छ,’ ओलीप्रति लक्षित गर्दै भुसालले भने, ‘दुईतिहाइको सरकार नढालेको भए घण्टीहरूको उदय नै हुने थिएन, शंख आयो भने हामीलाई छेस्काले पनि असर गर्न सक्छ, अब यसलाई हामी सबैले सुधार गरेर जानुपर्छ ।’

एमाले अध्यक्ष ओलीप्रति आक्रामक देखिएका भुसालले ओलीकै कारण राजनीतिको भाष्य बिग्रिएको आरोप पनि लगाएका छन् । प्रधानमन्त्री पदलाई चिट्ठामा पाएको जस्तो गरी प्रयोग गर्दा दुईतिहाइको नेकपा सरकार लथालिङ्ग भएको बताए । ओलीकै कारण एमालेले नर्कको बाटो रोजिसकेको टिप्पणी गरे ।

उनले नेकपा एकीकृत समाजवादीले वडादेखि नै अब बन्ने पदाधिकारीले पार्टीमा ५ वर्षको खाका प्रस्तुत गर्नुपर्ने बताए । सोही खाका हेरेर मात्रै कमिटीमा राखिने भुसालले बताए ।

एकीकृत समाजवादीले आइतबार बिहान पुष्पलाल चोकमा पुष्पलालको शालिकमा माल्यार्पण र बेलुका सबै पालिकामा दीप प्रज्वलन र सोमबार बिहान विराटनगरस्थित ट्राफिक चोकमा रक्तदान कार्यक्रम राखिएको जानकारी दिए ।


Author

थप समाचार
x