भुटानी शरणार्थी प्रकरणमा पार्टी भावनामा नबगाेस् : शेखर कोइराला
काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भुटानी शरणार्थी प्रकरण अत्यन्त संवेदनशील र पेचिलो विषय बनेको बताएका छन् ।
आइतबारको केन्द्रीय समिति बैठकमा बोल्दै नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए । उनले यस केन्द्रीय समिति बैठकले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिने विश्वास पनि व्यक्त गरे ।
उनले भने, 'भुटानी शरणार्थी प्रकरण अत्यन्त संवेदनशील र पेचिलो विषय बनेर गएको छ । यस विषयमा केवल भावनामा बगेर हलुका टिप्पणी गरेर पन्छिनसक्ने अवस्था पनि छैन । यो प्रकरणले अन्तर्राष्ट्रिय तहमै नेपालको छवि धुमलिएको छ । यसमा हामी सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता पनि मैले देखेको छु । यस विषयमा यो केन्द्रीय समितिले पारदर्शिता र सुशासनको पक्षमा उभिनसक्ने नैतिक बल दिनेछ भन्ने मैले विश्वास पनि लिएको छु ।’
उनले समाजवादी मोर्चाको सम्बन्धमा समेत प्रश्न उठाएका छन् । सत्तारूढ गठबन्धन भित्रैका दलहरूले बनाएको समाजवादी मोर्चा कसका लागि बनेको हो भन्दै उनले प्रश्न गरे । गठबन्धनभित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उनले उल्लेख गरे ।
उनले भने, ‘हामी गुटभित्र पनि उपगुट भनेर भन्छौँ नेपाली कांग्रेसभित्र । हामीहरूको गठबन्धनभित्र पनि अर्को गठबन्धन बनेको छ । समाजवादी मोर्चा, त्यो कसका लागि बनेको हो त्यतातिर अब हामीले छलफल गर्न जरुरी छ ।'
उनले संसदबाट दण्डहिनतालाई प्रश्रय दिने कानुनहरू बन्न थालेको बताए । उनले राज्यका जिम्मेवार निकायहरूकै कारण देशमा पछिल्ला दिनहरूमा दण्डहीनता बढेर गएको उल्लेख गरे । उनले नीतिगत रूपमै कानुन बनाएर दण्डहीनतालाई प्रश्रय दिने काम भइराखेको बताए । नेता कोइरालाले हाल संसदमा रहेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनको संशोधन गर्न बनेको विधेयक २०८० तत्काल खारेज गर्नुपर्ने बताए । यो विधेयक पारित भएमा दण्डहिनताले संस्थागत रूप लिने उनको भनाइ छ ।
नेता कोइरालाले महामन्त्री गगन थापाले प्रस्तुत गरेको संगठनात्मक कार्यतालिकामा प्रदेशलाई छुट्टयाइएको बताए । नेपाली कांग्रेस मासबेश पार्टी भएपनि कार्यतालिका भने क्याडरबेशमा गएको उनको टिप्पणी छ । उनले आगामी २०८४ सालको निर्वाचन कांग्रेस एक्लैले लड्नुपर्ने जिकिर गरे ।
उनले प्रत्यक्ष निर्वाचन प्रणालीभित्रै समानुपातिक, समावेशी सुनिश्चिता गर्नुपर्ने र त्यसको पहल नेपाली कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया