दल

सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल

इकागज |
साउन ८, २०८० सोमबार १८:५ बजे

काठमाडाैँ– सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् । 

सोमबार काठमाडौँमा आयोजित ‘समाजवादी यात्राको चुनौती : भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराएका हुन् ।


अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रूण तुहिने गरी सरकारले भ्रष्टहरूमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो । उनले मुलुकबाट भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्न  पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताए ।

महासचिव भुसालले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टीभित्रैबाट त्यसविरुद्ध अभियान छेड्नुपर्ने बताए । उनले समाजवादको यात्रालाई ठीक ढंगले अघि बढाउन पनि हरेकले आफ्नो पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सक्नुपर्ने जिकिर गरे ।

महासचिव भुसालले भने, ‘समाजवादको यात्रालाई ठीक राख्ने हो भने कमरेड पार्टी स्वयंलाई भ्रष्टाचार विरोधी बनाउन सकिउन् भने समाजवादको यात्रा सुरक्षित हुँदैन । एउटा गृहमन्त्री आएर, एउटा भाषण गरेर, एउटा गोष्ठी गरेर हुँदैन । हाम्रो गृहमन्त्री राम्रो गृहमन्त्री बन्ने कुराको, राम्रो कार्यक्रम गर्ने कुराको यो सबै कुराको कन्ट्रिब्युसन के होस भने समाजवादलाई ग्यारेन्टी गर्ने हो भने समाजवादी पार्टी चाहिन्छ ।'

महासचिव भुसालले अगाडि भने, 'एउटा दुइटा व्यक्ति होइन । आज मानकको हिसाबले नारायणकाजी भन्ने हो भने यो मुद्दामा त्यो पार्टीका हरेक सदस्य नारायणकाजी श्रेष्ठ हुनेछ । यस्तो पार्टी निर्माण नगर्ने हो भने क्रमशः यो पपुलिज्मको कुरा बन्छ ।'

साथै उनले पपुलिज्मका लागि भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई अघि बढाउन नहुने बताए ।


Author

थप समाचार
x