दल

हामी प्रतिपक्षमा भए त आगो बाल्थ्यौं : नेता पाण्डे

इकागज |
जेठ ७, २०७८ शुक्रबार १२:१५ बजे

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि निर्णायक शक्ति मानिएका जनता समाजवादी पार्टी र सत्तारुढ एमालेभित्रैको असन्तुष्ट भनिएको माधवकुमार नेपाल समूहसँग सहकार्यको हात अघि बढाइरहेका बेला नेपाल समूहले भने अहिले आफूले कुनै कदम नचाल्ने बताएको छ ।  

नेपाल समूहका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले स्थिति निकै जटिल देखिएकाले प्रतिपक्षी दलहरूले सहकार्य गर्नु उचित हुने बताए । ‘नयाँ परिस्थितिको प्रतिवादमा अहिले हामी अघि बढ्ने अवस्था छैन,’ इकागजसँग कुरा गर्दै पाण्डेले भने, ‘प्रतिपक्षी दलले जे भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो गरेको देखिन्नँ ।’ 


प्रतिपक्षी दल सुतेको अवस्थामा रहेको अवस्थामा राजनीतिक निकास निस्कने भन्दा पनि मुलुक जटिलतातिर जाने संकेत देखापरेको बताए । यसअघि सत्तारुढ एमालेमा विवाद बढ्दै जाँदा माधवकुमार नेपाल समूहका सांसदहरूले राजीनामा दिने बताएका थिए । राजनीतिक निकासको परिचर्चामा नेपाल समूहका सांसदहरूको राजीनामालाई एउटा विकल्पको रूपमा हेरिएको छ । तर नेता पाण्डेले अहिलेलाई त्यो सम्भावना शून्य रहेको बताए । 

उनले अब संसद विघटन र निर्वाचन घोषणा हुने सूचना आफूले पाएको बताए । ‘अहिले संसद विघटन भयो भने मंसीर ७ भित्र निर्वाचन गर्नुपर्छ । दुई चरणमा गर्ने हो भने कात्तिकमा एउटा चरणको चुनाव गर्नुपर्‍यो,’ उनले भने, ‘निर्वाचन भएन भने यो सरकारको वैधानिकता सकिन्छ । अनि फेरि राष्ट्रपतिले अर्को तरिकाले सरकार दिनुहोला ।’ पाण्डेले मुलुक अस्थिरता तिर धकेलिन लागेको अवस्थामा त्यो हुन नदिन आफूहरू प्रतिपक्षी भूमिकामा भएको भए जेसुकै गर्न तयार हुनेमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको भूमिका निर्णायक हुने बताए । 'हामी प्रतिपक्षमा हुँदा त आगो बाल्थ्यौं नि, अहिले प्रतिपक्षी दलहरूको त्यो भूमिका देखिन्नँ,' पाण्डेले भने । 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार अल्पमतको सरकारले संसदबाट विश्वासको मत लिनुपर्ने प्रक्रिया पुरा नगरी नयाँ प्रक्रिया ७६(५) अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि यसलाई विपक्षी दलहरूले असंवैधानिक कदम भएको बताएका छन् । यद्यपि, विपक्षी दलहरूबाट नयाँ सरकार गठन हुने मार्गचित्र प्रष्ट भैसकेको छैन । यद्यपि राष्ट्रपतिको पछिल्लो कदम असंवैधानिक भएकाले अदालत समक्ष चुनौती दिने प्रतिपक्षी दलका नेताहरूले बताएका छन् । 


Author

थप समाचार
x