दल

खाण निलम्बनमा मौन रहेको कांग्रेसले भन्यो - भ्रष्टाचारमा पार्टीको शून्यसहनशीलता नीति

इकागज |
साउन १०, २०८० बुधबार २२:१५ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले भ्रष्टाचार र अनियमितताका सम्बन्धमा पार्टीको शून्य सहनशीलताको नीति रहेको बताएका छन् । 

यही साउन २ गते सुरु भई आजसम्म केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबारे जानकारी दिन आज कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस सधैँ सुशासनका पक्षमा रहेको उल्लेख गरे । 


कांग्रेसले सुशासनमा सधैँ अगुवाइ गरेको उल्लेख गर्दै उनले आफ्नो पार्टीले कुनै पनि दोषीलाई संरक्षण नगर्ने बताए । कुनै पनि व्यक्तिलाई आरोप प्रमाणित नभएसम्म दोषी भन्न नमिल्ने उनको भनाइ थियो ।

कांग्रेसले तीनै तहको निर्वाचनमा बागी बनेर विजयी भएका पार्टीका नेता कार्यकर्ताको कारबाही फुकुवा गरेको उनले जानकारी दिए । यसैगरी कांग्रेसले पार्टीको महासमिति बैठक आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौँ गर्ने निर्णय गरेको उनले जानकारी गराए । 

बैठकमा भएको खुला छलफलले पार्टी थप सुदृढ भएर अघि बढ्ने विश्वास व्यक्त गर्दै प्रवक्ता डा महतले कांग्रेसबारे जनतामा थप आकर्षण बढ्ने बताए । बैठकमा प्रस्तुत साङ्गठिनक प्रस्तावलाई प्राप्त सुझावलाई समेटेर परिमार्जनसहित पारित गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेसका सांसद डा सुनिल शर्माले सुन तस्करी प्रकरणका सम्बन्धमा जिम्मेवारी लिँदै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेको सम्बन्धमा प्रवक्ता डा महतले सांसद शर्माले आफ्नो अस्पताललाई स्वास्थ्य बीमा सुविधा पाउनका लागि आफूसँग पहल गरेको तर नपाएको झोँकमा जथाभावी बोलेको बताए । 

साथै उनले आफू सो प्रकरणमा छानबिनका लागि सघाउन लागिपरेको उल्लेख गर्दै आफू सदैव भ्रष्टाचार र अनियमितताका सम्बन्धमा शून्य सहनशीलताका पक्षमा रहेको बताए । 


Author

थप समाचार
x