दल

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीले संसद्‍मा जवाफ दिनुपर्छ : सांसद जबरा

इकागज |
साउन १५, २०८० सोमबार १८:३३ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका सांसद उदय समशेर जबराले सुन तस्करी प्रकरणमा उच्चस्तरको छानबिन आयोग बनाउनुपर्ने बताएका छन् । सोमबार संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले यस्ता गम्भीर घटनामा सत्तापक्ष र विपक्ष भन्ने नहुने भन्दै मन्त्रालय, विभागबाट नभइ उच्चस्तरको संयन्त्र बनाइ छानबिन गर्नुपर्ने जिकिर गरे । उनले सुन तस्करीको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताए ।


उनले भने, ‘यो घटना सत्ता पक्ष, प्रतिपक्ष भन्ने छैन, यसमा उच्चस्तरको छानबिन हुनुपर्छ । हुनुहुँदैन भन्ने नै छैन । उच्चस्तरीय स्तरबाट छानबिन हुनुपर्छ, मन्त्रालय, विभागबाट होइन, होइन विपक्ष दलको होइन हामी सबैको माग हो, सुन तस्करीमा हामी गम्भीर छौँ । यो नेपालमा नौलो होइन, पुरानो बेलामा पनि थियो, बरु दुई चार दिन ढिलो होस्, उच्चस्तरीय छानबिन हुनुपर्छ । मलाई लाग्छ, सरकार उच्चस्तरीय छानबिन गर्न तयार छ । यो सदन खुलेर के के भएको हो भनेर प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । मुल माफियाको नाइके पत्ता लगाउनुपर्छ, तबसम्म सरकारलाई दबाब हामी पनि दिन्छौँ । तर, संसदका अरु बिजनेस चल्न दिनुपर्छ ।’

सांसद जबराले सुन तस्करमा मुख्य व्यक्ति पक्राउ गर्नुपर्ने बताए । मुख्य व्यक्ति पक्राउ नपरेसम्म सरकारलाई दबाब दिइरहने बताए ।


Author

थप समाचार
x