हाम्रो पार्टी पार्टीजस्तो भएनः अध्यक्ष दाहाल
काठमाडौँ - प्रधानमन्त्री एवं (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी पार्टीजस्तो नभएको बताएका छन् ।
बुधबारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रीय समितिको चौथो बैठक शुभारम्भ गर्दै उनले माओवादी केन्द्र पार्टीजस्तो नभएको स्वीकार गरेका हुन् । । अध्यक्ष दाहालले विगतदेखि नै बेलाबेलामा आफूले माओवादी केन्द्र पार्टीजस्तो नभएको कुरा भन्दै आएको स्मरण गराउँदै केन्द्रीय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने समेत बताए ।
नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई थियो । अध्यक्ष दाहालले पार्टी पुननिर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रीय समितिका नेताहरूले गम्भीरतापूर्वक जिम्मेवारी भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउने समेत बताए । पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरूबाट एउटा नयाँ आशा जनतामा पलाएको दाबी गर्दै अध्यक्ष दाहालले त्यसलाई पार्टी निर्माणको अभियानमा जोडेर अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याए ।
उनले भने, ‘यो बैठक हामी देशको विशिष्ट राजनीतिक परिस्थितिको बीचमा हामी बस्दैछौं । यसो त यो बैठक यसअघि नै बस्नुपर्ने थियो । पक्कै पनि यसमा विलम्ब हुुन गएको छ । देशका राजनीतिक समीकरण, उतारचढाव पनि एकहदसम्म जिम्मेवार छन् भने हाम्रो आफ्नै आन्तरिक तयारीलाई पूर्णता दिन विलम्ब हुनु पनि एउटा कारण भएको छ । ढिलै भएपनि हामी यो केन्द्रीय समिति बैठकमा उपस्थित भएका छौं । अहिले देशको राजनीति जुन बिन्दुमा छ । र, जनताले हाम्रो पार्टीबाट र आन्दोलनबाट जेजस्ता आशा र अपेक्षा गरेका छन् । पछिल्लो चरणमा हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन भइसकेपछि सरकारले अगाडि सारेका कार्यक्रमहरू, लिएका पहलकदमीहरु र गरिएका गतिविधिहरूबाट एउटा नयाँ आशा जनतामा पलाएको छ । र, हाम्रो केन्द्रीय समितिको यो बैठकले जनतामा उत्पन्न भएको एउटा आशा र भरोसाको स्थितिलाई संगठनमा रुपान्तरण गर्ने, जनतासँगको हाम्रो सम्बन्धलाई अझ सुदृढ गर्ने, अभियानमा बदल्नु छ । केन्द्रीय समितिको यो ऐतिहासिक बैठकको काँधमा त्यही मुल भुत जिम्मेवारी रहेको छ । र, हामीले अहिले देशको राजनीतिमा देखापरेको विभिन्न विचार, प्रवृत्तिहरूको बारेमा र अनि हाम्रो पार्टी भित्रकै विगतका स्थितिहरुको सिंहावलोकन र समिक्षा गर्ने, आउने दिनमा एक्शन ओरेन्टेट भएर जाने आवश्यक्ता छ । मैले हाम्रो पार्टीको सन्दर्भमा विगतमा बेला मौकामा भन्ने गरेको छु–हामीसँग नेता, कार्यकर्ताको विशाल पंक्ति त छ । तर पार्टी चाहीँ पार्टीजस्तो भइराखेको छैन । यसलाई साँचो अर्थमा एउटा कम्युनिष्ट पार्टी निर्माण, पुनर्निर्माणको अभियान हामीले यो बैठकबाट थाल्नु छ । मलाई विश्वास छ–केन्द्रिय समिति तपाई सम्पूर्ण जिम्मेवार कमरेडहरुले गम्भिरताका साथ, जिम्मेवारीका साथ अनुशासित रुपले रचनात्मक बहस, छलफल गरी यो बैठकलाई साँचै पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनीको बैठक बनाउन सहयोग पु¥याउनु हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । र, पक्कै पनि अहिले हाम्रो पार्टीको नेतृत्वमा रहेको गठबन्धन सरकार, जसले सकारात्मक र रचनात्मक राष्ट्रको पक्षमा, जनताको पक्षमा हामीले सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पका साथ अगाडि बढ्ने पहल गरिराखेका छौं । मलाई विश्वास छ–केन्द्रिय समितिको बैठकले ती कामहरुलाई अझ व्यवस्थित गर्ने, अझ प्रभावकारी बनाउने र राष्ट्र र जनताको आवश्यकता अनुसार अगाडि बढ्न अझ सहज वातावरण बनाउनेछ भन्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु । हामीले देशमा राष्ट्रिय एकतालाई सुदृढ गर्नुपर्ने आवश्यकता, राष्ट्रिय स्वाधिनतालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता छ । र, यो राष्ट्रिय एकता र स्वाधिनताको सुदृढीकरणमा पनि केन्द्रीय समितिको यो बैठकले महत्वपूर्ण छलफलहरु, निष्कर्षहरु निकाल्ने विश्वास पनि म व्यक्त गर्न चाहन्छु । किनकी पछिल्लो चरणमा अन्तराष्ट्रिय राजनीतिमा र क्षेत्रीय राजनीतिमा धुब्रीकरणका नयाँ प्रक्रियाहरु देखा परेका छन । युद्ध र द्वन्द्वका प्रतिस्पर्धाबाट द्वन्द्वका नयाँ प्रक्रियाहरु देखापरेका छन । नेपालजस्तो भूराजनीतिक संवेदनशीलता भएको देशमा त्यसको प्रभाव परिरहेको छ । र, आउने दिनमा अझ बढि त्यसको प्रभाव पर्ने संकेत पनि प्रष्ट देखिएका छन् । त्यस्तो स्थितिमा हामीले हाम्रो स्वतन्त्रतालाई, हाम्रो राष्ट्रियता, भौगोलिक अखण्डता, स्वाधिनतालाई सुदृढ गर्नको निम्ति केन्द्रिय समितिको यो बैठकले गहन छलफल गरेर समुचित निष्कर्ष निकाल्नुपर्ने आवश्यक्ता छ । म विश्वास गर्छु,–केन्द्रिय समिति बैठक त्यो दिशामा सफल हुनेछ । पक्कै पनि जतिबेला चुनौतिहरु देखापर्छन, त्यतिबेला यस भित्र अवसरहरु पनि अन्तरनिहीत रहेका हुन्छन । चुनौति र अवसरहरु जहिले पनि द्वन्द्वात्मक अन्तरसम्बन्धमा जहिले पनि पर्ने गर्दछन् । हामीले जहिले पनि नेगेटिभलाई पोजेटिभमा कसरी बदल्न सकिन्छ ? चुनौतिहरुलाई अवसरमा कसरी बदल्न सकिन्छ । राष्ट्रलाई अझ कसरी सुदृढ एकतामा कसरी लैजान सकिन्छ ? जनताका आवश्यक्ता र चाहनालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर ध्यान केन्द्रित गर्ने गरेका छौं । हामीले एकपछि अर्को सफलता चाहे त्यो हिजो जनयुद्ध, जनआन्दोलनको सन्दर्भमा होस् । शान्ति सम्झौता, संविधान निर्माणको सन्दर्भमा होस् । संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा, निर्वाचनको सन्दर्भमा होस् । हामीले त्यो उद्देश्यमा निरन्तर प्रयास गर्दै आएका छौं । केही उतारचढावहरु भएपनि हामी निरन्तर राष्ट्र र जनताको पक्षमा निष्ठाको साथ, इमान्दारिताका साथ, खडा पनि हुँदै आएका छौं । र, हाम्रो पार्टी त्यस्तो पार्टीको रुपमा पनि इतिहासमा राम्रैसँग स्थापित भएको छ । जसले आफ्ना कमीकमजोरीलाई स्विकार्न डराउँदैन । कमजोरीलाई इमान्दारिताका साथ आत्माआलोचना गर्ने र तिनलाई हटाउनका लागि संकल्प लिने र त्यसलाई हटाएर अघि बढने गर्दै आएको छ । पक्कै पनि विगतमा हाम्रा केही कमीहरु भएकै छन । हामीले पार्टी एकतालाई निरन्तर सुदृढ गर्न सकेनौं । विभाजनको पीडाबाट हामी गुज्रनु प¥यो । अहिले फेरि हामी एकताको नयाँ प्रक्रियातिर जाँदैछौं । हामी समाजवादको उद्देश्यका निम्ति समाजवादी मोर्चा निर्माण गरेर पनि हामी अगाडि बढदैछौं । र, फेरी एकचोटी विचार र राजनीतिको विकास र परिमार्जनसहित त्यसको आधारमा पार्टी एकतालाई अझ विकसित गर्ने जमर्को पनि गरेका छौं । यी सबै सन्दर्भमा केन्द्रिय समितिको यो बैठकले पार्टी र आन्दोलनलाई मात्रै होइन, सिंगो राष्ट्र र जनताको आवश्यक्तालाई सम्बोधन हुने गरी निष्कर्षहरु निकाल्नेछ भन्ने विश्वास गर्दै त्यसमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन पनि सबै कमरेडहरुलाई अनुरोध गर्दछु ।’
अध्यक्ष दाहालले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन पनि ठोस धारणा तय गर्ने अपेक्षा समेत आफूले गरेको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया