दल

रविलाई शंकरको प्रश्‍न : महिलाका लागि मात्रै निशुल्क सार्वजनिक यातायात कस्तो समाजको परिकल्पना हो ?

इकागज |
साउन १८, २०८० बिहीबार ११:८ बजे

काठमाडौँ- चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले निशुल्क सार्वजनिक यातायात महिलाका लागि मात्र भनेर चितवनबाट दिन खोजिएको सन्देशप्रति नेकपा एमालेका महासचिव शंकर पोखरेलले आपत्ति जनाएका छन् । चितवन जस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने  र सन्देश दिने प्रयास गर्नुपर्नेमा भोटको सस्तो राजनीति  गर्न खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

रास्वपाका सभापति रवि लामिछाने निर्वाचित भएको १०० औँ दिनमा बुधबार विभिन्न कार्यक्रम घोषणा गरेका थिए । जसमध्ये एउटा थियो- लामिछानेको निर्वाचन क्षेत्र चितवन-२ मा 'ब्लू बस' नाम दिइएको सार्वजनिक बस महिलाहरूका लागि मात्रै सञ्‍चालन बुधबारबाटै गरियो । त्यसैमा एमाले महासचिव पोखरेलले आपत्ति जनाएका हुन् ।


'चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको सुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौ भन्ने प्रश्न जागृत भएको छ' महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् 'आफुलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्‍चालन गर्न खोजेको होलान ? जिज्ञासा उठ्नु स्वभाविक हो । नेपाली समाजमा यतिबेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।'

'दुनियाका धेरै मुलुकहरुमा महिलाहरु वन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरु सुरुदेखिनै तुलनात्मक हिसावले स्वतन्त्र थिए' पोखरेलले लेखेका छन् 'उत्पादनको काममा परिवारका सदस्यहरुसंग मिलेर एकसाथ काम गर्दथे । जबकी अहिले युवाहरुको ठुलो संख्या रोजगारीका शिलशिलामा विदेशीएका वेला ठूलो संख्यमा महिलाहरु परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् ।'

पोखरेलले पञ्चायतकालमा विद्यार्थी राजनीतिको शिलशिलामा आफू चितवनमा जाँदा ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वास रहेको उल्लेख गरेका छन् ।

'पञ्चायतकालमा म विद्यार्थी राजनीतिका शिलशिलामा पहिलो पटक चितवन पुग्दा महिलाहरुले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाको बीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिए' उनले लेखेका छन् ।

नयाँ र वैकल्पिक शक्ति बनाउँछौ भन्नेहरुले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनुपर्ने पोखरेलको भनाई छ । उनले हरेक कामबाट भविष्यको सुन्दर दृष्य देखिनुपर्ने बताएका छन् । 'तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति  गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौँ' उनले भने । 


Author

थप समाचार
x